आगामी भदौ ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरेको चलचित्र ‘बाबरी’ अब बडा दशैंको विदामा लाग्ने भएको छ । आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘परदेशी २’ पाँच महिना पछाडि सरेर आगामी फागुन ५ मा पुगेपछि ‘बाबरी’ले सोही मिति रोजेको हो । सोमवार चलचित्रको ट्रेलर सार्वजनिक गर्दै असोज १४ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिँदैछ ।
‘परदेशी २’को प्रदर्शन पोस्टपोन्ड भएपछि असोज १४ मा अरु नेपाली चलचित्र थिएनन् । तर, यही मितिमा बलिउड चलचित्र ‘विक्रम वेदा’ र मणि रत्नमको साउथ चलचित्र ‘पिएस वान’ भने प्रदर्शनमा आउँदैछन् । ‘बाबरी’ टिमले विना विदाभन्दा दशैंको ६ दिन लामो विदामा रिलिज गर्दा व्यापार केही राम्रो हुने विश्वासमा असोज १४ रोजेको हो । ‘बाबरी’ले छाडेको मिति भने अब खाली भएको छ ।

सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा धिरज मगर, अदिती बुढाथोकी, धिरज नाडकर, बादल भट्ट, कमणमणी नेपाल, सुनिता श्रेष्ठ, उर्मिला बस्नेत, ध्रुव कोइराला, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतको पनि अभिनय रहेको छ । धिरज नाडकर, एक समयकी चर्चित अभिनेत्री तृप्ती नाडकरका छोरा हुन् । उनले यही चलचित्रबाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् ।
गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता र सुष्मा गुरुङ सह-निर्माता रहेको चलचित्रको कथा सुरेन्द्र पौडेल स्वयंले लेखका हुन् । चलचित्रमा कालीप्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत, रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालको पटकथा तथा संवाद र नरेन्द्र मैनालीको छायांकन छ । काठमाडौं, झापा, मोरङ र सिक्किममा चलचित्र खिचिएको हो ।