‘माइकल अधिकारी’ हेरेर दर्शक निराश हुँदैनन् : निर्माता पौडेल



भदौ ३ देखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘माइकल अधिकारी’का अभिनेता सौगात मल्ल र निर्माता निरक पौडेलसहितको टिमले शनिवार पूर्वी नेपालका प्रमुख शहर विर्तामोड र विराटनगरमा पत्रकार भेटघाट तथा मिनी कन्सर्ट सम्पन्न गरेको छ । विर्तामोडको वान स्टप मल र विराटनगरको सेन्ट्रल मलमा आयोजना गरिएको कार्यक्रममा चलचित्रको गीतमा कलाकारहरुले प्रस्तुति दिए ।

सांगीतिक कार्यक्रमभन्दा अगाडि सौगातले फरक कथामा बनेको ‘माइकल अधिकारी’मा मनोरञ्जनको डोज रहेको बताए । झापा र ईलाममा छायांकन गरिएका कारण पूर्वेली दर्शकले चलचित्रमा अपनत्व महसुस गर्ने दाबी गरे । यस्तै, निर्माता निरक पौडेलले नेपाली समाजको कथामा बनेकाले चलचित्र हेरेर दर्शक निराश नहुने बताए । चलचित्रको कथा दर्शकलाई नयाँ लाग्ने उनको विश्वास छ ।

रञ्‍जित रौनियारको निर्देशन रहेको चलचित्रमा सौगातसँगै सृष्टि श्रेष्ठ, आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, विद्या कार्की, हेमन्त बुढाथोकी, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियारलगायतको अभिनय छ । एक दाम्पति (सौगात-सृष्टि) ले पैसाको जोहो गर्न सेरोगेसी (कोख भाडामा लगाउने) निर्णय गरेपछि आउने उतार-चढावमा चलचित्र केन्द्रित छ ।

मनोज केसी प्रोडक्सन म्यानेजर रहेको चलचित्रमा कमल राई र कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद छ । उद्धव पौडेलको प्रस्तुति रहेको चलचित्रलाई गोपीकृष्ण मुभिजले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu