बैंकरहरुको प्रतिनिधित्व गरेर चलचित्रमा आएको हुँ : तेज गिरी



भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगन्ज’बाट नेपाली चलचित्र क्षेत्रले एउटा नयाँ अनुहार पाउँदैछ, तेज गिरी । उनले यो चलचित्रबाट अभिनेताको रुपमा डेब्यू गरेका छन् । चलचित्रको संसार उनका लागि नयाँ हो । उनी बैंकिङ क्षेत्रबाट प्रतिनिधित्व गर्दै चलचित्रमा आएका हुन् । पेशाले बैंकर रहेका उनी मुक्तिनाथ विकास बैंकमा लामो समयदेखि कार्यरत छन् ।

लाखौं बैंकरहरुको प्रतिनिधित्व गरेर आफू चलचित्रमा आएको उनी बताउँछन् । तेज भन्छन्, ‘म लाखौं बैंकरहरुको प्रतिनिधित्व गर्दै चलचित्रमा आएको छु । लिड एक्टर भएर चलचित्र गरेको म पहिलो बैंकर पनि हो । अभिनयमा म बामे सर्दै छु । हाम्रो समाजमा बामे सर्दै गरेको बच्चालाई हुर्काउन सबैले अभिभावकको भूमिका निर्वाह गर्छौं । मलाई पनि बामे सर्न साथ मिल्छ भन्नेमा विश्वस्त छु ।’

आगामी भदौ ३ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रमा माया गर्नेहरुको बेग्लै संसार रहेको र दर्शकहरुलाई सुन्दर संसारमा पुगेको महशुस हुने उनको दाबी छ । चलचित्रले दर्शकलाई टिनएजमा पनि फर्काउने उनले बताए । चलचित्रबाट ठूलो अपेक्षा राखेका तेज दर्शक प्रतिक्रिया बुझ्न आतुर रहेको बताउँछन् । चलचित्रमा आफूले सच्चा माया गर्ने प्रेमीको भूमिका निर्वाह गरेको उनको भनाई छ ।

‘चलचित्रमा मैले विशुद्ध माया गर्ने प्रेमीको भूमिका निभाएको छु । मायाको प्रभाव र अभावले जीवनमा आउने उतार-चढाव र त्यसले करिअरमा पार्ने असरहरुलाई मेरो पात्रबाट भनिएको छ,’ उनले को-एक्टर बेनिशा हमालसँग काम गर्दाको अनुभवबारे पनि भने, ‘बेनिशाजी अनुभवी कलाकार हुनुहुन्छ । उहाँसँग काम गर्दा आफूलाई निखार्नसँगै सिक्न पाएँ । यो मेरो लागि ठूलो अवसर हो ।’

उनी आफ्नो अभिनयलाई दर्शकबाट जस्तोसुकै प्रतिक्रिया आए पनि सहर्ष स्वीकार गर्ने बताउँछन् । ‘मैले गरेको काम चित्त बुझेन भने फिल्म हेर्न तिरेको पैसाभन्दा धेरै गाली गर्दा पनि हुन्छ । म सहर्ष स्वीकार गर्छु । मनपर्‍यो भने प्रशंसा पनि गरिदिनुस् । तर, एकपटक हलमा गएर हेरिदिनुहोला । हामीले एकदमै मिहेनत गरेर चलचित्र बनाएका छौं । चलचित्रले निराश बनाउँदैन,’ उनले भने ।

चलचित्रमा तेज र बेनिशासँगै सम्पदा बानियाँ, राइडर प्रशन, सुप्रिया खनाल, सिमरन खड्का, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराईलगायतको अभिनय छ । परिच्छेद सेनले निर्देशन बनेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त गेस्ट रोलमा छिन् । निर्देशक परिच्छेदकै कथा रहेको चलचित्रमा राजु फुयाँल प्रस्तुतकर्ता र अनन्तमान श्रेष्ठ कार्यकारी निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu