अभिनेत्री श्वेता खड्का पहिलो पटक आमा बन्ने भएकी छन् । उनी स्वयंले आफू आमा बन्न लागेको जानकारी मिडियालाई गराएकी हुन् । ६ महिनादेखि उनको गर्भमा बच्चा हुर्किरहेको छ । चिकित्सकले उनको डेलिभरी समय आगामी कात्तिक अन्तिम वा मंसिर पहिलो हप्तालाई तोकेको जानकारी प्राप्त छ ।

२०७७ साल मंसिर २२ गते धनगडीका विजयन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिएकी श्वेता डेलिभरी हुने समय नजिकिँदै गएपछि घरमा नै आराम गरिरहेकी छन् । विगत ३/४ महिनादेखि उनी चलचित्र क्षेत्रमा हुने सार्वजनिक कार्यक्रमहरुमा पनि पुगेकी छैनन् ।
२०७४ सालमा प्रदर्शन भएको चलचित्र ‘कान्छी’पछि अभिनयभन्दा आफ्नो व्यावसायलाई बढी प्राथमिकता दिँदै आएकी उनले विजयन्द्रसँग करीब २ वर्ष लामो प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेकी थिइन् । श्वेताको पहिलो विवाह लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । तर, विवाहको करीब एक महिनामै श्रीकृष्ण स्वर्गीय भएका थिए ।