‘सम्हालिन्छ कहिले मन’ गीत : पूजाको मायामा हराए आकाश



सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण टिमले साउनको अन्तिम सोमवार पारेर ‘हराएँ हराएँ’ बोलको रोमान्टिक गीत ओएसआर डिजिटलको यूट्युबमार्फत् रिलिज गरेको हो । तारा प्रकाश लिम्बु र अनु चौधरीको युगल स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द रचना र तारा प्रकाश लिम्बुको संगीत छ ।

यूके र मुस्ताङमा छायांकन गरिएको गीतमा पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड छन् । गीतमा पूजा र आकाशको केमेस्ट्री सुहाएको छ । स्कटल्याण्डका केहि चुचुरोहरुलाई छायांकार सौरभ लामाले ‘लार्ज फ्रेम’मा सुन्दर ढंगले कैद गरेका छन् । भिडियो कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।

निर्देशक सुदर्शन थापाले भनेका छन्, ‘गीत-संगीत उत्कृष्ट छन् । कथाको माग अनुसार कुनै पनि कुरामा सम्झौता नगरेको चलचित्र हो, यो । क्वालिटीको हिसाबमा बलिउडका ‘ए ग्रेड’ लभस्टोरी चलचित्रभन्दा उत्कृष्ट बनेको छ । दर्शकले नयाँ फ्लेवर पाउनेछन् ।’

चलचित्रमा पूजा र आकाशका अलावा सोनम तोप्देन, सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ललगायतको अभिनय छ । सोनमको यो डेब्यू चलचित्र हो । एबी इन्टरनेशनलसँग भिक्टर सिनेमा लिमिटेडले निर्माण सहकार्य गरेको चलचित्रमा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत छ भने अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

भदौ १७ देखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रलाई अमित बस्नेत, अजित केआर थापा र परी रानाले निर्माण गरेका हुन् । चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । यसअघि सुदर्शन निर्देशित चलचित्र ‘रामकहानी’को पटकथा तथा संवाद पनि महेशले नै लेखेका थिए । उनी सुदर्शनका विश्वास पात्रको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu