दयाहाङ राईसँग तुलना भएकोमा धिरज खुशी



अभिनेता धिरज मगर करीब ४ वर्षपछि चलचित्र ‘बाबरी’मार्फत् ठूलो पर्दामा देखिँदैछन् । असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको दुई गीत ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीत चर्चाको शिखरमा छ भने टिजरपछि सोमवार ट्रेलर पनि सार्वजनिक गरियो । टिजरसँगै ट्रेलरमा धिरजको आवाज चलचित्र ‘कबड्डी’को ‘वीरकाजी’ पात्र (दयाहाङ राई) सँग दुरुस्तै मिलेको देखिन्छ ।

धिरज भने ‘बाबरी’मा आफ्नो क्यारेक्टर काजी नै रहेकाले आवाज मिल्दोजुल्दो सुनिनुलाई सामान्य बताउँछन् । ‘म दयाहाङ राई दाईलाई आइडल मान्छु । हामीले उहाँ जस्तो कलाकारकै बाटोमा हिँड्ने हो,’ उनले भने, ‘आवाज ‘वीरकाजी’को जस्तो आयो भनेर जसरी प्रतिक्रिया आएको छ, ‘बाबरी’मा विक्रान्तको क्यारेक्टर पनि काजी नै हो । त्यसैले पनि कति कुराहरु मिल्न गएको होला ।’

अभिनयको हिसाबमा दयाहाङ राईसँग तुलना भएकोमा भने धिरज गर्व महशुस गर्छन् । उनले ‘बाबरी’मा बोलेको बोल्ड आवाज आफ्नै रहेको पनि स्पष्ट पारे । विक्रान्तको क्यारेक्टर आफूभन्दा विल्कुलै फरक रहेको बताउँदै उनले त्यसमा आफूलाई ढाल्नका लागि निकै मिहिनेत गर्नुपरेको बताए । छोटो समयमै आफूले गाउँघरको हाउभाउ, बोली, पूर्वेली भाषा सिकेको उनको भनाई छ ।

उनले आफू स्टार बन्न नआएको पनि बताएका छन् । ‘मैले पहिलो चलचित्र गर्दा नै म स्टार बन्न र कसैको ठाउँ लिन आएको होइन भनेको थिएँ । म राम्रो कलाकार बन्न चाहन्छु । त्यसैले हरेक चलचित्रमा फरक-फरक भूमिका गर्न मन पर्छ,’ धिरजले अगाडि भने, ‘मैले चलचित्र क्षेत्रमा अझै आफ्नो ठाउँ बनाएको छु जस्तो लाग्दैन । म अझै आफ्नो स्थान बनाउँदै छु र धेरै कुरा सिकिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu