लामो समयदेखि पर्दामा नदेखिएका अभिनेता राजेश हमालले कमब्याक गर्ने चलचित्रको टुंगो लागेको छ । कोरोना महामारीको समयमा साइन गरेको चलचित्र ‘सत्यम्’को निर्माण अन्योल भएपछि हमालले चलचित्र ‘मायाको माया’ साइन गरेका छन् । उनले तीन साताअघि यो चलचित्र साइन गरेका हुन् । उनले चलचित्रका लागि करीब दुई हप्ता वर्कसप पनि गरिसकेको जानकारी प्राप्त छ ।

हमाल अहिले श्रीमतीसँग एक सांगीतिक कार्यक्रमका लागि दुबईमा छन् । उनको त्यहाँ एक हप्ते लामो बसाई रहनेछ । दुबईबाट फर्किएपछि उनी सद्गुरु जग्गी वासुदेवको अन्तर्वार्ता दिन भारत जानेछन् । त्यसपछि हमालले आगामी भदौ १७ गतेदेखि चलचित्रको सुटिङ सुरु गर्नेछन् । मिडियामा आएको खबर जस्तो चलचित्रमा हमालको भूमिका चिकित्सकको नरहेको पनि स्रोतले बताएको छ ।
चलचित्रमा अनुप विक्रम शाही र आना शर्मा जोडीको रुपमा देखिनेछन् । तर, हमालको अपोजिटमा भने अभिनेत्री नरहने स्रोतले बतायो । चलचित्रबाट सर्वानी पाण्डेले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् भने भारतबाट तन्ह्भी आजमीको पनि अभिनय रहनेछ । बेलायतबाट पढेर फर्किएका रोहित करण बैधले निर्देशन गर्ने चलचित्रलाई ड्राइभर इंक प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको हो ।