प्रिमियरमा ‘प्रेमगन्ज’को प्रशंसा (फोटोसहित)



यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगन्ज’को मंगलवार राजधानीमा प्रिमियर शो गरिएको थियो । नेपालमा चलचित्र प्रदर्शनको तीन दिन अगाडि प्रिमियर भएका कमै उदाहरण छन् । प्रदर्शनको तीन दिन अगाडि प्रिमियर गरेर ‘प्रेमगन्ज’ टिमले भने ठूलो रिक्स उठाएको छ । किनकि, प्रिमियरबाट आउने प्रतिक्रियाले चलचित्रको लगभग भविष्य निर्धारण गर्छ ।

‘प्रेमगन्ज’का निर्देशक तथा निर्माता फिल्मप्रति ‘कन्फिडेन्ट’ भएकाले पनि तीन दिन अगाडि प्रिमियर राखेका थिए । र, प्रिमियरमा मिलेको उत्कृष्ट प्रतिक्रियाले निर्माण टिममा उत्साह थपिएको छ । प्रियिमरमा तीन सयभन्दा चलचित्रकर्मी, बैंकर्स, मिडियाकर्मीहरुको उपस्थिति थियो । सबैले चलचित्रको निर्देशकिय पाटो, कलाकारको अभिनय, छायांकन पक्ष, गीत-संगीत र कथावस्तुको प्रशंसा गरे ।

‘आमा’ निर्मात्री शर्मिला पाण्डेले चलचित्र उत्कृष्ट बनेको भन्दै प्रशंसाको पूल बाँधिन् । उनले भनिन्, ‘प्रेममा यतिसम्म पनि पागलपन हुन्छ भन्ने फिल्मले देखाउँछु । कलाकारहरुको अभिनय राम्रो छ । यो चलचित्रबाट तेज गिरीले अभिनयमा सम्भावना देखाउनुभएको छ । चलचित्र लामो भए पनि समय वितेको थाहा हुँदैन । चलचित्र अत्यन्त बलियो छ । दर्शकहरुलाई पनि मनपर्छ भन्नेमा विश्वस्त छु ।’

अभिनेत्री बेनिशा हमालले चलचित्र हेरिरहँदा धेरै पटक रोएको बताइन् । ‘प्रेमगन्ज’मा यौनकर्मीको भूमिकामा अभिनय गरेकी उनले भनिन्, ‘मलाई कुनै पनि काम दिनुस्, म त्यो क्यारेक्टरलाई न्याय गर्ने कोशिश गर्छु । र, म जस्तोसुकै क्यारेक्टरमा काम गर्न तयार छु ।’ त्यस्तै, अभिनेता तेज गिरीले आफ्नो कामको प्रशंसा भएकोमा खुशी व्यक्त गरे । उनी बैंकिङ क्षेत्रबाट चलचित्रमा आएका हुन् ।

परिक्षेद सेनले निर्देशन गरेको चलचित्रमा तेज र बेनिशासँगै राइडर प्रशन, सुप्रिया खनाल, सिमरन खड्का, सम्पदा बानियाँ, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराईलगायतको अभिनय छ । चलचित्रमा अभिनेत्री सुरक्षा पन्त गेस्ट रोलमा छिन् । राजु फुयाँल प्रस्तुतकर्ता रहेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । चलचित्रको कथा सेन स्वयंको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu