जुम्लामा वर्ल्ड प्रिमियर हुँदै ‘प्रकाश’



चलचित्र ‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लामा गरिने भएको छ । भाद्र १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको ५ गते आइतबारका दिन जुम्लामा वर्ल्ड प्रिमियर हुन लागेको हो । जुम्लाको तिर्खु गाँउमा छायांकन भएको यो चलचित्रको सोही गाँउको मोक्ष माध्यमिक बिद्यालयको प्राङ्गणमा प्रिमियर गर्न लागेको निर्देशक दिनेश राउतले जानकारी दिएका छन् ।

आइतबार हुने प्रिमियरका लागि चलचित्रका लेखक बिकास सुबेदी सहितको टिम शनिबार जुम्ला जानेछ । जुम्लामा हल नभएका कारण बिद्यालयमा प्रोजेक्टरको माध्यमबाट चलचित्र देखाइनेछ । स्थानीय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुका साथै सिंगो गाउँबासीलाई चलचित्र हेर्न निम्ता दिइएको छ । जुम्लाको परिवेशमा कथा भनिएका कारण चलचित्रको पहिलो दर्शकका रुपमा स्थानीय जनतालाई रोजेको निर्माण पक्षले जनाएको छ ।

निर्देशक दिनेश राउतले जुम्लाको भाषा, संस्कृति, रहन-सहन, रितिरिवाजका माध्यमबाट कथा भनिएका कारण पहिलो दर्शकका रुपमा त्यहीका स्थानिय जनतालाई चलचित्र देखाउन लागिएको बताए । चलचित्रको ८ गते बुधबार काठमाडौं प्रिमियर गरिने जनाइएको छ । चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ ।

चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतको अभिनय छ । बिकास सुबेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी चलचित्रका निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu