सुदर्शन थापा हिट चलचित्रहरु दिने निर्देशकको सूचिमा पर्छन् । ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ लगायत रोमान्टिक चलचित्रहरु निर्देशन गरेर अब्बल निर्देशकको छवि बनाएका थापा निर्देशित मेगा बजेटको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ भदौ १७ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्र प्रदर्शनमा आएपछि नेपाली चलचित्र नयाँ कोर्समा अघि बढ्ने थापाको दाबी छ ।
सुदर्शन भन्छन्, ‘कन्टेन्ट मात्र पनि चलचित्र होइन । स्क्रिप्ट पढ्नका लागि लेखिएको हो अर्थात् साहित्यकै स्वरुप हो । त्यो जब चलचित्र बन्छ, तब त्यो हेर्नका लागि बनाइन्छ । चलचित्र भनेको निर्देशकको भिजुअल इम्याजिनेशन हो । यसमा कन्टेन्ट, लोकेशन, छायांकन, साउन्ड सबै पक्ष पर्छ । हामीले कन्टेन्ट मात्रै भनिरहँदा मेकिङ राम्रो गर्न सकेनौं भने त्यसको अर्थ रहँदैन । यस चलचित्रमा सबै पक्ष सुदृढ छ र भदौ १७ पछि नेपाली चलचित्रमा नयाँ युग सुरु हुन्छ ।’

‘सम्हालिन्छ कहिले मन’ नेपाली चलचित्र मेकिङमा कोशेढुंगा सावित हुने उनको ढोकुवा छ । चलचित्रमा मेकअपम्यान, प्राविधिकदेखि कलाकारसम्म सबैले अलग ढंगले काम गरेको र नेपाली चलचित्र इतिहासको अहिलेसम्मकै उत्कृष्ट मेकिङ चलचित्रको मुख्य विशेषता रहेको सुदर्शनको कथन छ । यस चलचित्रले बलिउडका ए ग्रेडका चलचित्रहरुसँग प्रतिस्पर्धा गर्न सक्ने पनि उनले दाबी गरेका छन् ।
नेपाली चलचित्र मेकिङ पक्षमा चुकेकाले पनि दर्शकको साथ पाउन नसकेको उनको बुझाई छ । ‘अहिलेका मल्टीप्लेक्स पहिलेका सिंगल थिएटरको दाँजोमा स्तरीय भइसकेका छन् । यस तथ्यलाई ध्यानमा राखेर हामीले मेकिङ गर्नुपर्छ,’ सुदर्शन भन्छन्, ‘नेपाल र विदेशमा रहेका नेपालीभाषी, जो विगतमा नेपाली चलचित्र हेर्न आउँदैन थिए, यसपटक भने ‘सम्हालिन्छ कहिले मन’ हेर्न आउँछन् ।’
त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र रहेकाले यसको प्रस्तुति दर्शकलाई फरक लाग्ने सुदर्शन बताउँछन् । ‘चलचित्र भनेको स्टोरी मात्रै होइन । स्टोरीलाई गरिने भिजुअल प्रेजेन्टेशन हो । त्यसैले यस चलचित्रको प्रेजेन्टेशनलाई दर्शकले निकै फरक पाउनुहुन्छ । चलचित्रलाई स्तरीय बनाउन हामीले मेकिङमा अति नै मिहेनत गरेका छौं । कलाकारको मिहेनत पनि प्रशंसायोग्य छ,’ उनले भने ।
पूजा शर्मा, सोनम तोप्देन, आकाश श्रेष्ठ, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य मुख्य भूमिकामा रहेको चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद, सौरभ लामाको छायांकन, अर्जुन जिसीको सम्पादन छ । एवि इन्टरनेशनलले निर्माण गरेको चलचित्रको निर्मातामा अमित बस्नेत, सह-निर्मातामा परी राना र अजितकुमार थापा, कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम छन् ।


