दिनेश भन्छन्, ‘अब लभस्टोरी नगर्ने होइन’



दिनेश राउतले रोमान्टिक लभस्टोरी चलचित्र निर्देशनमा आफूलाई स्थापित गरेका छन् । उनको ‘कम्फर्ट जोन’ नै लभस्टोरी हो । सुदर्शन थापाको चिफ असिस्टेन्ट डाइरेक्टर भएर काम गरेको पहिलो चलचित्र ‘मेरो एउटा साथी छ’ होस् वा उनलाई निर्देशकको रुपमा स्थापित गरेका ‘आइ एम सरी, ‘नोभेम्बर रेन’, ‘क्लासिक’ चलचित्र हुन्, सबै लभस्टोरी कथामा नै निर्माण भएका थिए ।

तर, चलचित्र ‘प्रसाद’बाट उनले आफ्नो ‘कम्फर्ट जोन’ छाडेका छन् । ‘प्रसाद’मा प्रेमकथा नभएको होइन तर, चलचित्रले उठाएको मूल कथा अलग मुद्धामा थियो । यद्यपि, यसमा पनि उनले आफूलाई निर्देशनमा प्रमाणित गरे । यो चलचित्रपछि उनीमाथि चुनौतीको चाङ जति ठूलो छ, अपेक्षा त्योभन्दा कम छैन । उनलाई अब ‘प्रसाद’भन्दा कमजोर र औसत चलचित्र बनाउन छुट मिल्ने छैन ।

‘प्रसाद’पछि दुई वर्ष ब्रेक लिएका दिनेशले यही भदौ १० गते चलचित्र ‘प्रकाश’ तीजको कोशेली स्वरुप दर्शकलाई सुम्पिँदैछन् । यो चलचित्र पनि उनको ‘कम्फर्ट जोन’ बाहिरको हो । जुम्लाको कथालाई उनले दृश्यभाषामा उतारेका छन् । पोस्टर, ट्रेलर र गीतहरु हेर्दा ‘प्रकाश’मा उनले उठाएको कथावस्तु संवेदनशिल देखिन्छ । चकलेटी हिरो प्रदीप खड्कालाई उनले जुम्लेली बनाएका छन् ।

फिक्सन लभस्टोरी भन्न रुचाउने दिनेश राउतले किन आफ्नो ‘कम्फर्ट जोन’ छाड्दैछन् ? यसबारेमा उनी भन्छन्, ‘कुनै पनि स्टोरी मनबाट छोयो भने म गर्छु । इमोसनल स्टोरी भन्न मलाई अलि सहज महसुस हुन्छ । हिजो गरेको चलचित्रमा केटा-केटीको फिक्सन स्टोरी थियो होला । ‘प्रकाश’मा आमा-छोराको कथा छ । त्यसैले कहीँ न कहीँ ह्युमन इमोसनलको स्टोरीमै काम गरिरहेको छु ।’

आज केही फरक चलचित्र बनाउँदैमा भविष्यमा लभस्टोरी नै नगर्ने भन्ने नभएको दिनेशको भनाई छ । ‘भोलीका दिन लभस्टोरी पनि गर्छु । तर, अहिले यसमै मज्जा आइरहेको छ,’ उनले भने । हरेक चलचित्र बनाउँदा आफूबाट भएका कमी कमजोरी महसुस हुने र त्यसलाई सुधार्न मिहेनत गर्ने क्रम नरोकिएको उनी बताउँछन् । तर, ‘प्रसाद’भन्दा ‘प्रकाश’ केही राम्रो बनेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu