सोफीको प्रेममा डुबेपछि कार्मले सिके फ्रेन्च भाषा



अभिनेता कार्म शाक्य व्यक्तिगत जीवनलाई बाहिर ल्याउन रुचाउँदैनन् । उनले युरोप मुलकी एनी सोफीसँग एक वर्ष अगाडि विवाह गरेको खबर पनि सार्वजनिक गरेका थिएनन् । जब बिहे पार्टीको कार्ड सेलिब्रेटीहरुको हात-हातमा पुग्यो अनि उनले विवाह गरेको खबर मिडियामा आएको हो । शनिवार उनले दिएको बिहे पार्टीमा हरिवंश आचार्य, नम्रता श्रेष्ठ, दीया मास्के, सृष्टि श्रेष्ठ, अभिनेता सौगात मल्ल, खगेन्द्र लामिछाने, इन्दिरा जोशीलगायत पुगेका थिए ।

पार्टीको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै कार्मले सोफीलाई आफ्नो श्रीमती बनाउन पाएकोमा खुसी व्यक्त गरे । ‘मेरो विवाह गर्ने उमेर पनि भइसकेको थियो । परिवारबाट पनि दबाब थियो,’ कार्मले भने, ‘सोफीसँग जब म प्रेममा थिएँ र हामीबीच सबै कुरा मिलेको देखेँ अनि विवाह गर्ने निर्णयमा पुगेको थिएँ । मैले सोफी जस्तो राम्रो व्यक्ति अरु पाउन सक्दिनँ भन्ने पनि महसुस भयो ।’

सोफीको प्रेममा डुबेपछि उनले फ्रेन्च भाषा बोल्नका लागि क्लास नै लिएका रहेछन् । उनी भन्छन्, ‘मैले फ्रेन्च सिकेको सोफीको लागि नै हो । यद्यपि, मैले कलेजमा हुँदा नै फ्रेन्च क्लासहरु भने लिएको थिएँ । सोफीलाई भेट्नुअघि मेरो फ्रेन्च खासै राम्रो थिएन । सोफीलाई भेटेपछि फ्रेन्च सिक्नका लागि क्लास लिन थालेँ । अहिले पनि सिकिरहेको छु । हेरौं कति राम्रोसँग एडप्ट गर्न सक्छु ।’

पेशाले एक रकब्यान्डको गायिका रहेकी सोफीले करीब ५ वर्ष अगाडि पेरिसमा कार्मसँग भेट भएको स्मरण गरिन् । ‘पेरिसमा एक फेस्टिभलको क्रममा हाम्रो भेट भएको थियो । म एक रकब्यान्डको गायिका हुँ । मेरो र उहाँको साथीहरुबीच राम्रो सम्बन्ध छ । त्यसैक्रममा हामीबीच भेट भयो,’ उनले भनिन् । सन् २०१९ मा कार्मलाई आफ्नो परिवारसँग भेट गराएको पनि सोफीले बताइन् ।

सोफीले कार्मको ‘लुट’, ‘शेरबहादुर’, ‘लुकामारी’, ‘कठपुतली’ लगायतका चलचित्रहरु हेरेकी छन् । अब उनी कार्मको नयाँ चलचित्र ‘अभिन्न’ हेर्न आतुर छिन् । कार्मले सोफीसँग चलचित्र ‘कठपुतली’को स्क्रिप्टबारे छलफल समेत गरेका रहेछन् । सामान्य नेपाली बोल्ने सोफीले आफूहरुबीच बढीजसो अंग्रेजीमै कुराकानी हुने बताउँछिन् । उनले नेवारी परिकार आफूलाई मनपर्ने पनि बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu