‘गोर्खा: बिनिथ द ब्रेभरी’मार्फत विश्वलाई गोर्खा सैनिकको बहादुरी र मानवताको कथा देखाउँदैछु : निर्देशक शाही



काठमाडौं। प्रदीप शाही, नेपाली चलचित्र क्षेत्रका लागि नयाँ नाम हुन सक्छ । तर, नेपाली चलचित्रलाई विश्वमा चिनाउनका लागि उनको ठूलो योगदान छ । सर्ट चलचित्रहरुबाट थुप्रै अन्तर्राष्ट्रिय अवार्डहरु जितिसकेका उनले विश्वलाई गोर्खा सैनिकको बहादुरी र मानवताको कथा देखाउन चलचित्र ‘गोर्खा: बिनिथ द ब्रेभरी’ बनाएका छन्, जुन यही भदौ २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

पहिलो विश्वयुद्धमा मानवता देखाएर भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको कथामा निर्माण भएको चलचित्रले गोर्खा सैनिकलाई संसारभर चिनाउने निर्देशक शाहीको विश्वास छ । चलचित्रको प्रदर्शनका लागि बेलायतबाट नेपाल आएका उनले भने, ‘३६ घन्टाको पहिलो विश्वयुद्धमा कुलवीर थापाले कसरी भिक्टोरिया क्रस पाउनुभयो भन्ने कथामा चलचित्र बनेको छ । चलचित्रले हामी गोर्खाली के हौं भनेर संसारलाई चिनाउनेछ ।’

गोर्खालीलाई संसारले युद्द गर्ने सैनिकको रुपमा मात्र नचिनुन्, युद्दमा सहभागी भएतापनि गोर्खा सैनिकमा मानवता युद्दभाव भन्दा बढि मानवता छ भन्ने सन्देश चलचित्रले दिने निर्देशक शाहीले बताए । उनी भन्छन्, ‘पहिलो विश्वयुद्धमा नेपाली गोर्खा सैनिकको के योगदान छ भन्ने कुरा कुलवीर थापाको माध्यमबाट भन्न खोजेका छौं । त्यसबेला गोर्खा सैनिकले कसरी मानवता देखाएका थिए भन्ने कुरा चलचित्रमा छ । चलचित्रले हामी नेपाली मानवतापूर्ण पनि छौं भनेर चिनाउनेछ ।’

‘गोर्खा: बिनिथ द ब्रेभरी’को नेपालअघि बेलायत र अमेरिकामा प्रदर्शन भइसकेको छ । त्यहाँ चलचित्रलाई सकारात्मक प्रतिक्रिया मिलेको र नेपालमा पनि दर्शकहरुले चलचित्र रुचाउनेमा निर्देशक शाही ढुक्क छन् । ‘मैले चलचित्रलाई रेगुलर नेपाली चलचित्रभन्दा केही फरक बनाउने प्रयास गरेको छु,’ उनले भने, ‘हामीले यो चलचित्र नेपाली समुदायले मात्र नभइ विदेशीले पनि बुझ्ने गरी बनाएका छौं । चलचित्रमा गीतहरु समावेश छैनन् । एकदमै यथार्थपरक बनाएका छौं ।’

लामो समयदेखि बेलायतमा बस्दै आएका प्रदीप शाहीको ‘गोर्खा: बिनिथ द ब्रेभरी’ पहिलो निर्देशकीय फिचर चलचित्र हो । यसअघि उनले ‘पासपोर्ट’, ‘वेटिङ, ‘सिम्बोल १’, ‘कन्फ्लिक्ट’लगायत थुप्रै सर्ट चलचित्रको निर्देशन गरेर अन्तर्राष्ट्रिय अवार्डहरु जितिसकेका छन् । यूकेको केही टेलिभिजन ड्रामामा सहायक निर्देशक भएर काम गरेको अनुभव पनि उनीसँग छ ।

चलचित्रमा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् ।

चलचित्रमा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ ।

सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । घाइते भएको भोलीपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । चलचित्र यहि कथाको वरपर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu