हल नै नभएको जुम्लामा ‘प्रकाश’को प्रिमियर, जुम्लाबासीले गरे प्रशंसा



चलचित्र ‘प्रकाश’को नेपालको दुर्गम ठाउँ जुम्लाको दुर्गम गाउँ तिर्खुमा विश्व प्रिमियर भएको छ । चलचित्रको आइतबार साँझ पातारासी गाउँपालिकामा अवस्थित ऋण मोक्ष माध्यमिक बिद्यालयको परिसर प्रिमियर गरिएको हो । हल समेत नभएको उक्त गाँउमा प्रोजेक्टरबाट चलचित्र प्रदर्शन गरिएको हो । विजुली समेत नभएका कारण चलचित्र टिमले प्रिमियरका लागि जेनेरेटर समेत आफैंले लिएर गएको थियो ।

प्रिमियरमा चलचित्रका अभिनेता प्रदीप खड्का र लेखक बिकास सुबेदी सहभागी भएका थिए । दुबैलाई स्थानीयबासीले झाकीसहित स्थानीय संस्कार अनुसार फुलमाला र फेदा लगाएर स्वागत गरेका थिए । ४५ दिनसम्म तिर्खु गाँउमा नै चलचित्र छायाँकन गरिएको हो । प्रिमियरमा चलचित्र हेरेका स्थानीयबासीले चलचित्रलाई निकै मन पराएको प्रतिक्रिया दिएका छन् ।

उनीहरुले आफ्नै भोगाई चलचित्रमा हेर्न पाएको भन्दै खुशी ब्यक्त गरे । जुम्लालाई टपक्कै टिपेर चलचित्रमा देखाएको भन्दै स्थानीय बासिन्दाले चलचित्रको मुक्तकण्ठले प्रशंसा गरेका छन् । प्रिमियरपछि एक स्थानीयले चलचित्र हेर्दै गर्दा आफ्नै भाइ–छोरा, छोरी, आमालाई नै पर्दामा देखेको जस्तो अनुभुति भएको प्रतिक्रिया दिए । धेरै स्थानीय बासिन्दाले आफुहरुले भोग्दै आएको वर्ग विभेद चलचित्रमा प्रष्टसँग देख्न पाइएको पनि बताएका छन् ।

स्थानीयको प्रतिक्रियापछि प्रदीप खड्काले ‘प्रकाश’को प्रिमियर आफ्ना लागि सम्झनयोग्य क्षण भएको बताएका छन् । स्थानीयको मायाले पुकलित बनेका प्रदीप चलचित्रलाई प्राप्त प्रतिक्रियाले उत्साहित छन् । आफूले सोच्दै नसोचेको माया र प्रतिक्रिया स्थानीयबाट प्राप्त गरेको उनको भनाई छ । स्थानीयहरुले हाम्रै भाई छोरा जस्तो देखिएका छौं भनि दिएको प्रतिक्रियाले आफुले गरेको पात्रले सार्थकता पाएको उनको बुझाई छ ।

त्यस्तै, लेखक बिकास सुबेदी पनि निकै उत्साहित देखिए । उनले आफूले जे सोच अनुरुप चलचित्र लेखेको हो स्थानीयले चलचित्र हेरेर सोही अनुसारको प्रतिक्रिया दिएको बताए । उनले भने, ‘हाम्रो कुरा भन्ने कोही त रहेछ भनेर उहाँहरुले देखाउनु भएको आफ्नोपन नै चलचित्रको सफलता हो । स्थानीय बासिन्दाले आफ्नो भोगाई दुरुस्तै पर्दामा उतारेकोमा हामीलाई धन्यवाद पनि दिनुभयो ।’

दिनेश राउत निर्देशित चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । बिकास सुबेदीको लेखन रहेको चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu