‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीतमा आकाश र सोनमको प्रेममा पूजा



सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीत सार्वजनिक भएको छ । गायक सुगम पोखरेलको दशक पुरानो लोकप्रिय गीत ‘सम्हालिन्छ कहिले मन’लाई रि-रेकर्ड गरेर तयार पारिएको गीत सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । गीतमा सुगम स्वयंको आवाज छ भने सुरेश भट्टराईको शब्द रचना छ । गीतको ओरिजिनल संगीतकार जेम्स प्रधान हुन् ।

सौरभ लामाले खिचेको गीतको भिडियोमा चलचित्रका प्रमुख अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्मा र नव-अभिनेता सोनम तोप्देन फिचर छन् । वियोगान्त र रोमान्टिक संवादसहितको गीतमा उनीहरुको त्रिकोणात्मक प्रेम कथालाई बुनिएको छ । आकाश र सोनममध्ये पूजा कसकी हुन्छिन् भन्ने कौतुहलता गीतले दर्शकमा जगाउन सक्छ । भिडियोमा छायांकन पक्ष प्रशंसनीय छ ।

भदौ १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा पूजा, सोनम र आकाशसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतको पनि अभिनय छ । गायक समेत रहेका सोनमले यही चलचित्रबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् । चलचित्रका लागि पूजा शर्माले सोनमलाई रोजेकी हुन् । एवि इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् ।

अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको निर्मातामा अमित बस्नेत, सह-निर्मातामा परी राना र अजितकुमार थापा, कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम छन् । निर्देशक थापाले नेपाली चलचित्रमा अहिलेसम्मकै उच्च मेकिङ ‘सम्हालिन्छ कहिले मन’मा हेर्न पाइने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu