चलचित्र राम्रो छैन भने कलाकार जति कराए पनि केही हुँदैन : पूजा शर्मा



गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ अभिनेत्री पूजा शर्माले रोएरै सुपरहिट बनाएको आरोप लाग्दै आएको छ । चलचित्र प्रदर्शनको समयमा उनले हिरासतमा रहेका अभिनेता पल शाहलाई सम्झिएर आँसु झारेकी थिइन् । तर, यही भदौ १७ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ भने उनी नरोइ चलाउने बताउँछिन् । सोमवार गीत रिलिज कार्यक्रममा उनले यसपटक नरोइ चलचित्र चलाउने बताएकी हुन् ।

पूजाको बचाउमा निर्देशक सुदर्शन थापाले निर्माता रुनुभन्दा चलचित्र चल्छ भने अरु कलाकारलाई पनि रुन चुनौती दिए । उनले भने, ‘म यस्तो गीत गाउँछु २’को समयमा पूजा रुनुको कारण सबैलाई थाहा छ । यदि रोइरै चलचित्र चल्थ्यो भने पूजाले चलचित्र चलेको चार/पाँच दिनसम्म रोइरहेको भए भइहाल्थ्यो नी ! उता निर्माता रोइरहेका छन्, कलाकारले रोएर चलचित्र चलाए त भइहाल्यो नी ।’

चलचित्र राम्रो छैन भने कलाकार जति कराए पनि केही नहुने पूजाको तर्क छ । उनी भन्छिन्, ‘पहिलो भनेको चलचित्रले दर्शकलाई छुनै पर्छ । दोस्रो भनेको टिमवर्क हो । चलचित्रको कन्टेन्ट रुचाउने वा नरुचाउने भन्ने कुरा त दर्शकमा निर्भर रहन्छ । कलाकारले त अभिनय गर्ने हो । त्यसैले चलचित्र राम्रो छ भने अवश्य पनि चल्छ । चलचित्र नै राम्रो छैन भने कलाकार जति कराए पनि केही हुँदैन ।’

मेकरहरुले स्क्रिप्ट सुनाउँदा भयंकर लाग्ने तर छायांकनको समयमा कम्प्रमाइज हुने गरेको गुनासो पनि पूजाको छ । ‘चलचित्र कस्तो बन्छ भन्ने कुरा स्क्रिप्ट पढ्दा थाहा हुँदैन । स्क्रिप्ट पढ्दा हेलिकप्टरको सिन हुन्छ तर, छायांकन गर्दा पैदलको सिन हुन्छ । त्यो हाम्रो दोष होइन । सुनाउँदा भयंकर सुनाइन्छ र हामी त्यसैमा विश्वास गर्छौं । अनि, गाली खाने पनि हामी नै हुन्छौं,’ पूजाले दुखेसो पोखिन् ।

पूजाले आफू स्टारडममा विश्वास गर्ने कलाकार नभएको पनि बताइन् । तर, कलाकार भएपछि डरै डरमा बाँच्नु पर्ने उनको अनुभव छ । ‘हाम्रो १०/५ को जागिर नहोला तर कलाकारका लागि अभिनय काम नै हो । तर, म स्टारडम सोचेर बस्ने मान्छे चाहिँ होइन । यदि त्यस्तो सोचेर बस्थेँ भने म कसैसँग फ्रेन्ड्ली हुँदिनँ थिएँ । म काममा विश्वास गर्छु, स्टारडममा विश्वास लाग्दैन,’ पूजा शर्मा सुनिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu