‘२ नम्बरी’का लागि गीत बनाए ५० हजार पाइने



दीपेन्द्र लामा निर्देशित मल्टीस्टारर चलचित्र ‘२ नम्बरी’को टिमले टाइटल गीत प्रतियोगिताको आह्वान गरेको छ । उत्कृष्ट गीतलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । साथै, उक्त गीतलाई रेकर्ड गराएर चलचित्रमा समेत समावेश गरिने किरणको भनाई छ ।

उनले भने–‘प्रतियोगितामा सहभागी हुन इच्छुकले संसारका जुनसुकै ठाउँबाट गीतको रफ भर्सन रेकर्ड गराएर पठाउन सक्नेछन् । चलचित्रको टिजर बुढासुब्बाको युट्युब च्यानलमा उपलब्ध छ । उक्त, टिजर हेरेर चलचित्रको टाइटल गीत तयार पार्न सकिनेछ ।’ लोक, आधुनिक, शास्त्रीय वा पाश्चात्य जुनसुकै शैलीको गीत भएपनि फरक नपर्ने उनले बताए ।

एउटा सिंगो गीत कम्पोज गरेर रफ फाइल पठाउनुपर्ने मेकरले बताएका छन् । आवश्यक परेको खण्डमा निर्माणपक्षले नै लोकप्रिय गायक–गायिकाको स्वरमा रेकर्ड गर्ने निर्देशक दीपेन्द्र लामाले बताए । भदौको ३१ गतेभित्र गीत तयार गरेर पठाउनुपर्नेछ । तयार भएको गीत [email protected] इमेल ठेगानामा पठाउनुपर्नेछ । गीत छनोट प्रक्रिया निष्पक्ष बनाउनका लागि निर्माण पक्षले निर्णायक समितिका सदस्यहरुको नामलाई गोप्य राखेको छ ।

दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी, बद्दि तामाङ, पुष्कर गुरुङ, श्रेयस पौडेल, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, डीबी गुरुङ, जयनन्द लामा, राजु थापामगर, सागर शाह ठकुरीलगायतको अभिनय रहेको चलचित्रमा दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ निर्मातामा छन् । असोज २१ गतेबाट प्रदर्शनमा आउने चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu