‘तिम्रो नजर’को सुटिङ नर्वेमा गर्न दूतावासमा नक्कली कागजपत्र पेस



एक नेपाली चलचित्रको छायांकनका लागि नर्वेजियन दूतावासमा बुझाएको भिसा आवेदनमा नक्कली कागजपत्र पेस भएको भेटिएको छ । ‘तिम्रो नजर’ नामक चलचित्रको छायांकन नर्वेमा गर्नका लागि निर्माण टिमले भारतमा रहेको नर्वेजियन दूतावासमा पेस गरेको कागजपत्रमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र कार्यकारी प्रमुखको हस्ताक्षर नक्कली प्रयोग भएको खुलेको हो ।

चलचित्र छायांकनका लागि कलाकारसहितको भिसा आवेदन परेपछि दूतावासले नेपालस्थित पर्यटन बोर्डबाट फोनमार्फत जानकारी लिएको थियो । तर, बोर्डले कुनै पनि नेपाली चलचित्रको सुटिङको लागि अनुमति नमागेको जानकारी गराएपछि नक्कली कागजपत्र पेस भएको खुलेको हो । नक्कली लेटरप्याडमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकारी धनञ्जय रेग्मीको हस्ताक्षर प्रयोग छ ।

Shooting for films amid Covid-19 pandemic more challenging than expected,  say industry insiders | Deccan Herald

तर, प्रमुख रेग्मीले बोर्डले नर्वेमा कुनै पनि चलचित्रको सुटिङको लागि अनुमति नमागेको र आफ्नो हस्ताक्षर नक्कली प्रयोग भएको बताएका छन् । नेपाल पर्यटन बोर्डको ३०९-२०७८/७९ पत्र नम्बरमा गत जुलाई २० मा १४ जना कलाकारका लागि भिसा आवेदन पेस भएको थियो । तर, बोर्डले लेटरप्याड र हस्ताक्षर दुवै नक्कली प्रयोग भएको बताएपछि दूतावासले भिसा रिजेक्ट गरेको छ ।

सुटिङका लागि हरिश सिग्देल (आर्यन), केकी अधिकारीलगायत १४ जनाको नाममा भिसा आवेदन दिइएको थियो । तर, निर्माताले भिसाका लागि आवेदन दिएकाले चलचित्र निर्माणका लागि प्रयोग भएको कागजातको बारेमा कलाकारहरु जानकार नहुन पनि सक्छन् । दूतावासमा पेस गरिएको कागजपत्रमा चलचित्रको निर्देशकमा दीपकप्रसाद आचार्य र निर्मातामा रोशन पराजुलीको नाम छ ।

आफ्नो कार्यालयको लेटरप्याड र प्रमुख कार्यकारी अधिकारीको हस्ताक्षर नक्कली प्रयोग भएको भेटेपछि बोर्डले केस नेपाल प्रहरीलाई दिएको छ । यस विषयमा अनुसन्धान गर्न केस प्रहरीलाई सुम्पिएको बोर्ड प्रमुख रेग्मीले जानकारी दिए । बोर्डले अनुसन्धानको लागि दिएको पत्र दर्ता गरेर अहिले प्रहरीको अनुसन्धान ब्युरोले नक्कली कागजपत्र पेस सम्बन्धमा अनुसन्धान गरिरहेको छ । ब्युरोले चलचित्रका नाममा मानव तस्करी हुनसक्ने आशंकामा पनि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu