निर्देशक सुजित बिडारीले भदौ २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ऐना झ्यालको पुतली’ले आफ्नो अनुभवजन्य भोगाइको परिणाम रहेको बताएका छन् । मंगलबार पत्रकारसँगको साक्षात्कार गर्ने क्रममा बिडारीले भुइँचालोले सिर्जना गरेको निस्सारताबीच आफ्नै घरका महिलाले गरेको संघर्षलाई आधार मानेर चलचित्र बनाएको बताए ।

‘म आमा र दिदीहरूको संघर्ष हेरेर हुर्किएँ । यो चलचित्रलाई मेरो भोगाइको प्रतिविम्ब भन्दा पनि हुन्छ । फिल्ममा देखिने आमा, दिदी भाइ मेरै परिवारका सदस्य हुन् । यो कथा म जस्तै धेरै परिवारको कथा हो,’ उनले भने, ‘मैले जसरी यो उमेरमा आएर आमा र दिदीहरूको संघर्षलाई हेरेँ त्यसैगरी चलचित्र पनि भाइको आँखाबाट आमा र दिदीले गरेको संघर्षमा साक्षी बसेको कथा हो ।’
चलचित्रमा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री शीर्ष भूमिकामा छन् । चलचित्रमा सिरु बिष्टबाहेक बाँकी सबै कलाकार नन्-एक्टर हुन् । निर्देशक तथा कास्टिङ निर्देशकले संखुवासभाका स्कुलबाट अडिसन गरेर उनीहरूलाई अभिनयका लागि तयार गराएका हुन् । निर्देशक सुजित बिडारीले सहरमा हुर्किएका कलाकारबाट गाउँले जनजीवन विश्वसनीयताका साथ देखाउन सम्भव नहुने ठम्याइसहित नयाँ कलाकार लिएर काम गरेको बताए ।

तर उनले नन्–एक्टरबाट काम गराउन भने सजिलो अनुभव नरहेको बताए । ‘पहिलो कुरा त नन्–एक्टरसँग काम गर्न गाह्रो हुने रैछ भन्ने थाहा पाएको भए सायद काम गर्दिनथेँ होला,’ सुजितले भने, ‘मेरो चलचित्रले गाउँको पनि अलि पुरानो समयको कथा भन्छ । गाउँको चरित्रले गर्ने गतिविधिमा कुनै कमजोरी नहोस् भनेर त्यही परिवेशमा हुर्केका चरित्रलाई कलाकार बनाउने निर्णय गरेका थियौँ । उहाँहरूले मेरो सोचलाई सार्थक बनाएको महसुस गरेको छु ।’
चलचित्र अभिनयको थुप्रै अनुभव संगालेकी सिरु बिष्टले स्क्रिप्ट पढ्नुअघि काम गर्ने कुरामा विश्वस्त नभए पनि स्क्रिप्ट पढेसँगै आफू चलचित्र गर्न तयार रहेको अनुभव सुनाइन् । ‘निर्देशकले भन्दा मात्रै म गर्न सक्दिन होला जस्तो लागेको थियो तर स्क्रिप्ट पढेसँगै यो त मैले भोगेकै कथा त रैछ नी भने जस्तो भयो । त्यसैले मैले नाइँनास्ती गरिन्,’ उनले थपिन् , ‘मलाई घाँस काटेको, दुध दुहेका, गुन्द्री बुनेको, डोको नाम्लो आदि गरेको अनुभव थिएन । यस्ता धेरै कुरा मैले सिकेँ ।’

सिरुले ट्रेलरले गाउँले परिवेशमा बनेको दिदी भाइको कथा जस्तो छनक दिए पनि चलचित्रले हरेक परिवेशमा रहेका परिवारलाई आफ्नो कथा भनेको आभास हुने जिकिर गरिन् । निर्देशक सुजित बिडारीले पनि उनको तर्कमा सही थाप्दै चलचित्रले सपना पछ्याउने कुरालाई जोड दिएकाले जुन वर्गका दर्शकले पनि चलचित्रमा आफूलाई देख्न सक्ने विश्वास व्यक्त गरे ।
आइसफल प्रडक्सन, लोकल सिनेमा र आर्को फिल्मस्को संयुक्त ब्यानरमा बनेको चलचित्रलाई प्रबिन स्याङ्बो, आकाश पौडेल, रामकृष्ण पोखरेल र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन् । दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलको न्यू करेन्ट सेक्सनमा छानिने पहिलो नेपाली चलचित्रको रेकर्ड बनाएको चलचित्रबाट निर्देशक सुजित बिडारीले ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए ।