यही भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’को बुधवार राजधानीमा प्रिमियर आयोजना गरियो । बिग मुभिजको दुईवटा हल ‘बुक’ गरेर ५ सय बढी चलचित्रकर्मी र अन्य क्षेत्रका व्यक्तिहरुलाई चलचित्र देखाइएको थियो । जहाँ अधिकांशले कलाकारको अभिनय, कथावस्तु, निर्देशकिय पाटोलगायतको खुलेर प्रशंसा गरे ।
प्रिमियरमा पुगेका प्रायः पाहुनाले विशेषगरी अभिनेता प्रदीप खड्काको अभिनयको प्रशंसा गरेका थिए । कलाकार तथा निर्देशक दीपाश्री निरौलाले चलचित्र हेर्दा प्रदीपलाई चिन्नै नसकेको बताइन् । उनले भनिन्, ‘चलचित्रमा प्रदीपलाई हेर्दा ऊ प्रदीप नै होर भन्ने लाग्यो । उसको बोलाई, हिँडाई हेर्दा त्यो रोमान्टिक हिरो त्यही नै होर भनेर सोच्न बाध्य बनायो । उसको अभिनय जीवन्त छ ।’

‘प्रकाश’ उत्कृष्ट बनेको बताउँदै उनले दर्शकसँगै नेताहरुले चलचित्र छुटाउन नहुने धारणा राखिन् । ‘विषयवस्तुको हिसाबले फिल्म जीवन्त छ । हरेक कलाकारको अभिनय जीवन्त छ,’ उनले अगाडि भनिन्, ‘चलचित्र हेर्दा अब पनि राजनीति र राजनीतिज्ञलाई यसरी नै सहेर बस्ने र भन्ने लाग्छ । खासमा यो चलचित्र नेताहरुले चाहिँ हेर्न छुटाउनुहुन्न । चलचित्रले उठाएको विषयवस्तु कहानीलाग्दो छ ।’
अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले प्रदीपलाई यसप्रकारको क्यारेक्टरमा हेर्दा आफूलाई रमाइलो लागेको बताए । उनले चलचित्रको प्रशंसामा भने, ‘ट्रेलर र टिजर हेर्दा नै म चलचित्र हेर्न एकदमै आतुर थिएँ । कर्णालीभन्दा हामी धेरै टाढा छौं । तर, चलचित्रले हामीलाई कर्णालीको जीवनमा लगिदिन्छ । यसप्रकारको मौलिकपन बोकेको चलचित्र दर्शकहरुले हेर्नुपर्छ । सबैको काम राम्रो छ ।’
अभिनेता विनय श्रेष्ठले त ‘प्रकाश’ हेरेपछि आफू प्रदीप खड्काको ठूलो फ्यान भएको प्रतिक्रिया दिए । ‘मैले मध्यान्तरमै प्रदीपलाई भेटेर ‘म तिम्रो आजबाट ठूलो फ्यान भएँ’ भनेर भनेको थिएँ । उसले चरित्रका लागि गरेको मिहेनत पर्दामा देखिन्छ । प्रदीपले गरेको क्यारेक्टरमा मैले आफूले आफूलाई पनि महसुस गरेँ । प्रदीपले यति राम्रो क्यारेक्टर पाएकोमा मलाई डाहा पो लाग्यो,’ उनले भने ।

प्रदीपका नजिकका निर्माता सन्तोष सेनले पनि आफ्नै हिरोको प्रशंसामा शब्द खर्चिए । प्रदीपको अभिनयले आफू आश्चर्यमा परेको उनको भनाई थियो । उनले भने, ‘चलचित्र निकै मनपर्यो । प्रदीपले यो चरित्रमा यति राम्रो अभिनय गर्न सक्छ भन्ने मैले सोचेको पनि थिइनँ । म त उनको अभिनय देखेर आश्चर्यमा परेँ । म ऊप्रति गर्व महसुस गर्छु । अब प्रदीपले जस्तोसुकै चरित्र पनि गर्न सक्छ ।’
अभिनेत्री नम्रता श्रेष्ठले चलचित्रको यात्रामा आफूलाई पनि अनुभूति गरेको बताइन् । कलाकारदेखि निर्देशकसम्म सबैको काम अब्बल लागेको उनको भनाई थियो । ‘दर्शकहरुले यसप्रकारको फिल्म हेरिदिनुभयो भने नेपाली चलचित्रको भविष्य राम्रो हुन्छ,’ उनले भनिन्, ‘निर्देशक दिनेश राउतले सधैं केही फरक गर्न खोज्नुहुन्छ । उहाँले कहिले पनि निराश बनाउनुहुन्न । र, आज पनि निराश भइनँ ।’
अर्की अभिनेत्री सृष्टि श्रेष्ठले प्रदीपको अभिनयबाट आफू प्रभावित भएको तर्क गरिन् । त्यस्तै, अभिनेता सौगात मल्लले पनि प्रदीपको अहिलेसम्मकै उत्कृष्ट काम लागेको प्रतिक्रिया दिए । उनले भने, ‘प्रदीपले यसअघि गरेका चलचित्रमा भन्दा ‘प्रकाश’मा उत्कृष्ट काम देखेँ । एकदमै राम्रो लाग्यो । निर्देशकदेखि हरेक कलाकारको काम राम्रो छ । दर्शकहरुले पनि चलचित्र मन पराउनुहुन्छ होला ।’

चलचित्रकर्मीहरुबाट आफ्नो अभिनयको प्रशंसा सुनेपछि प्रफुलित देखिएका प्रदीपले चलचित्र हेर्दा प्रदीप जस्तो देखिएन भन्ने प्रतिक्रिया पाउनु नै आफ्नो मिहेनत सफल भएको महसुस गरेको बताए । ‘प्रायः चलचित्रकर्मीको प्रतिक्रिया प्रदीप जस्तो देखिएन भन्ने थियो । मलाई पनि त्यो कुरा महसुस हुन्छ कि हुँदैन भन्ने डर थियो । सबैले प्रदीप जस्तो देखिएन भनेपछि म खुसी भएँ,’ उनी दंग देखिए ।
निर्देशक दिनेश राउतले प्रिमियरमा प्राप्त प्रतिक्रियाले आफ्नो जिउमा काँडा उफ्रेको बताए । दर्शकबाट पनि यसप्रकारकै प्रतिक्रिया मिल्नेमा उनी विश्वस्त देखिए । त्यस्तै, अभिनेत्री द्वय दीया मास्के र रेगु योगीले आफ्नो कामलाई चलचित्रकर्मीहरुले रुचाएकोमा खुसी व्यक्त गरे । महेन्द्र अधिकारीले निर्माण गरेको चलचित्र २ घन्टा ७ मिनेट लम्बाईको छ ।


