हिन्दू नेपालीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर शुक्रवारबाट दुई आशातित चलचित्र ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनमा आएका छन् । दुवै चलचित्रमा स्टार कलाकारहरुको अभिनय छ भने दुवै फरक विषयमा बनेका चलचित्र हुन् । बुधवार र बिहीवार आलोपालो भएको प्रिमियरमा दुवै चलचित्रले सुखद् प्रतिक्रिया बटुलेका थिए । यसको फाइदा बक्सअफिसमा पर्ने आशा निर्माण टिमको छ ।

‘प्रकाश’मा अहिलेका स्टार अभिनेता प्रदीप खड्का लिड रोलमा छन् । कमर्शियल लभस्टोरी चलचित्रमा जमेका उनले पहिलो पटक आफूलाई चरित्र अभिनयमा ढालेका छन् । प्रदीपको युवापुस्तामा गजबको क्रेज छ । ‘प्रकाश’लाई यसको फाइदा हुने अपेक्षा गरिएको छ । तर, बलिउड चलचित्र ‘लाइगर’का कारण चलचित्रले मल्टीप्लेक्सहरुमा न्यून शो पाएको छ ।
‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’ जस्तो चलचित्रबाट आफूलाई प्रमाणित गरिसकेका दिनेश राउत निर्देशित चलचित्रमा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । महेन्द्र अधिकारीको निर्माण रहेको चलचित्रको आक्रामक प्रचार-प्रसार गरिएको थियो ।
त्यस्तै, ‘सुनगाभा’ फेम्ड निर्देशक सुवर्ण थापाले निर्देशन गरेको चलचित्र ‘राधा’मा पनि नाम चलेका कलाकारहरुको ठूलो भीड छ । अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रमा सौगात मल्ल, दिव्य देव, दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सुनील पोखरेललगायतको अभिनय छ । यो चलचित्रको ‘पाउमा पाउजु छैन बरी लै’ बोलको तीज गीत यतिबेला चर्चामा छ ।