न्यायका लागि लडिरहेकी महोत्तरीकी निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरविरुद्ध उजुरी दिने भएकी छन् । गत महिना करिश्माले निहारिकाको एक युवकसित अन्तरंग सम्बन्ध झल्किने केही तस्विरहरु फेसबुकमा सार्वजनिक गरेपछि निहारिकाले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिन लागेकी हुन् ।
निहारिका बसन्तपुरमा अनसन बसेको समयमा करिश्माले निहारिका र उनको छोरालाई आफूसँग राख्ने इच्छा व्यक्त गर्दै छोरा लिएर आफ्नो घरमा आउन आग्रह गरेकी थिइन् । उनले फेसबुकमा लेखेकी थिइन्, ‘मेरो एउटा छोरी थियो, तिमी भयो भने दुईटा हुन्छ । बच्चा लिएर घर आऊ । म छु ।’

तर, केही दिनमै उनले निहारिकाको एक युवकसित अन्तरंग सम्बन्ध झल्किने तस्विरहरु फेसबुकमा पोस्ट गरिन् । उनले घटनाको प्रकृति नै थाहा नपाई आफू सहयोग गर्न अघि सरेकोमा सबैसँग माफी मागेकी थिइन् । उनले निहारिकालाई आफ्नो र बच्चाको जीवनलाई असर हुने गरी अगाडि नबढ्न समेत सल्लाह दिएकी थिइन् ।
जनकपुरका शिवराज श्रेष्ठले बन्धक बनाएर बलात्कार गरेको र बलात्कारपछि बच्चा जन्मिएकाले दोषीलाई कारवाही र बच्चाको डिएनए परिक्षणको काम गर्दै निहारिक लामो समयदेखि अनसनरत थिइन् । गत असार ३१ गते आरोपित श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ भने उच्च अदालत जनकपुरले बच्चा र आरोपी श्रेष्ठको डीएनए टेष्टका लागि आदेश दिइसकेको छ ।


