‘प्रकाश’ले कम शो पाएपछि प्रदीपको आक्रोश- ‘शो नै नपाएपछि कहाँ देखाउने ?’



शुक्रवारबाट प्रदर्शनमा आएको ‘प्रकाश’लाई मल्टीप्लेक्सहरुमा बलिउड चलचित्र ‘लाइगर’का कारण कम शो मिलेपछि निर्माण टिमले आक्रोश पोखेको छ । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माता, अभिनेता र लेखकले हल सञ्चालकको नियतमाथि प्रश्न उठाए । पत्रकार सम्मेलनमा अभिनेता प्रदीप खड्का आक्रामक शैलीमा प्रस्तुत थिए । उनको आक्रोश क्यूएफएक्स चेनप्रति बढी देखिन्थ्यो ।

हल सञ्चालकहरुले ‘प्रकाश’लाई उपयुक्त शो टाइम उपलब्ध नगराए काठमाडौंको चोक-चोकमा प्रोजेक्टरबाट चलचित्र देखाउने उनले घोषणा नै गरे । चलचित्र हेर्न जाँदा शो नै छैन भनेर हलले फर्काएको गुनासो दर्शकहरुबाट आएको भन्दै उनले केही म्यासेजहरु पढेर समेत सुनाए ।

‘चलचित्रको आउटलुक हेर्दा मास अपिलिङ लाग्दैन होला । तर, ‘प्रकाश’ नेपाली चलचित्र क्षेत्रका लागि कलंकै हो भनेर पनि त कसैले भन्न सक्दैन होला,’ उनले भने, ‘३ बजेपछि चलचित्रको शो नै छैन । ललितपुर हो मेरो घर । मेरो परिवारका सदस्यले ३ बजेपछि चलचित्र हेर्न चाहे भने कि प्लेन चढाएर विर्तामोड पठाउनुपर्छ नभए ट्याक्सी चढाएर अरु ठाउँमा पठाउनुपर्छ । यो त ठूलो अन्याय हो नी ।’

जुम्लाको समस्या र परिवेश काठमाडौंलाई थाहा हुनुपर्छ भन्ने उद्देश्यले चलचित्र निर्माण गरेको भए पनि चलचित्रले काठमाडौंमै राम्रो शो नपाएको उनले गुनासो पोखे । आक्रामक शैलीमा प्रदीपले भने, ‘चलचित्रले शो नै नपाएपछि देखाउने चाहिँ कहाँ ? एउटा चलचित्र चलाउनका लागि सिनेमा हल नै त खोल्न सकिन्न । यदि शो नै नपाउने हो भने चोक-चोकमा प्रोजेक्टर लगाएर चलचित्र देखाउँछौं ।’

प्रदीप चलचित्रले राम्रो शो नपाउनुको कारण हल सञ्चालकको नियतमाथि खोट देख्छन् । नेपाली र विदेशी चलचित्रलाई समान रुपले प्रदर्शन गर्नुपर्ने तर्क राख्दै उनले थपे, ‘चलचित्र चलेन भने अर्को चलचित्रलाई शो दिनुपर्छ । तर, अर्को चलचित्र (लाइगर) को बुकिङ र रेस्पोन्स कस्तो छ अनि हाम्रो चलचित्रको प्रिमियरपछि रिभ्यू कस्तो छ, मुल्यांकन नै नगर्ने ? काहिँ न काहिँ नियतमा खोट देख्छु ।’

निर्माता महेन्द्र अधिकारीले पनि शो बाँडफाँडमा हल सञ्चालकले विभेद गरेको गुनासो पोखे । ‘हामीले गरेको दुःखलाई दर्शकहरुले शो नपाएका कारण हेर्न नै नपाउने ?’, उनले प्रश्न गर्दै भने, ‘मेरो धारणा यत्ति मात्र होकि हामीले बनाएको चलचित्र विहान, दिउँसो र बेलुका तीनवटै समयमा दर्शकहरुले हेर्न पाउनुपर्छ । विदेशी चलचित्र मात्र चल्नुपर्छ भन्ने मात्र छ र ? हामीले पनि पैसा बनाएर देखाउन सक्छौं नी ।’

उनले चलचित्र बनाउन सिकाउन हल सञ्चालकहरुलाई चुनौती पनि दिए । निर्माता अधिकारीले आक्रोशित भावमा भने- ‘हामीलाई स्क्रिप्ट दिनुस्, तपाईंहरुले सोचेको जस्तै चलचित्र बनाएर दिन्छौं । आजको दिनमा ‘प्रकाश’ राम्रो छैन, हेरिनु हुँदैन, नेपालीपन बोकेको छैन भनेर कसैले भन्छ भने म भोली नै चलचित्र हलबाट उतार्न तयार छु । नभए एक/दुईजनाको सिन्डिकेटले चलचित्रलाई मार्नु हुँदैन ।’

त्यस्तै, लेखक विकास सुवेदीले कुनै चलचित्रले नेपाली समाजको कथाव्यथा बोकेर आउँछ भने त्यसलाई चल्ने फिल्म होइन भनेर ब्याख्या गरिनु गलत प्रवृति रहेको बताए । नेपाली चलचित्रको धार बदल्न नसोचेका चलचित्रले नै भूमिका खेलेको स्मरण गर्दै सुवेदीले हल सञ्चालक र वितरकले कस्तो चलचित्रलाई व्यावसायिक मानिरहेका छन् भन्ने कुरा अहिलेको सबैभन्दा ठूलो प्रश्न रहेको बताए ।

नेपालीपन बोकेका चलचित्रहरु बन्नै हुँदैन भन्ने मानसिकता बोकेको एउटा जमात कहिँ कतै ‘प्रकाश’को पछाडि लागेको हुनसक्ने उनको बुझाई छ । ‘के अब हाम्रो कथालाई बाहिर नै नल्याउने ? ढाकाटोपी लगाएको पात्र देखेपछि यो चलचित्र चल्दैन त्यसैले कम शो दिए पनि हुन्छ भन्ने मानक बनाउँदै जाने हो भने अबको २० वर्षपछि इन्डस्ट्री कहाँ हुन्छ ? भोजपुरी जस्तै बन्ने हो त ?,’ उनी सुनिए ।

नेपालको सबैभन्दा ठूलो क्यूएफएक्स चेनले चलचित्रलाई शुक्रवार जम्मा १३ शो उपलब्ध गराएको थियो । ती सबै शो ३ बजे अगाडिको मात्र थियो । ३ बजेपछि क्यूएफएक्स चेनमा चलचित्र नै छैन । प्रदीप हल सञ्चालकले गरेको विभेदको विषयमा आक्रामक रुपमा प्रस्तुत भएपछि भने क्यूएफएक्स चेनले शनिवारका लागि २२ शो दिएको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu