वर्षौंदेखि प्रदर्शकहरुले नेपाली चलचित्रलाई पाखा र विदेशी चलचित्रलाई काखाको व्यवहार गर्दै आएका छन् । एकै मितिमा नेपाली र विदेशी चलचित्र प्रदर्शनमा आए प्रदर्शनको प्राथमिकतामा विदेशी चलचित्र पर्छ । नेपाली चलचित्रलाई भने शो बाँडफाँडमा दबाउन खोजिन्छ । यसपटक यसको शिकार शुक्रवारबाट प्रदर्शनमा आएका दुई आशातित नेपाली चलचित्र ‘प्रकाश’ र ‘राधा’ भए ।
बिहीवारबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘लाइगर’लाई सर्वाधिक शो दिँदा हल सञ्चालकहरुले दुई नेपाली चलचित्रलाई भने शुक्रवार न्यून शो दिए । शो बाँडफाँडमा भएको विभेदलाई लिएर ‘राधा’ टिम बोलेको छैन । तर, ‘प्रकाश’ टिम हलवालाविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै चलचित्रका निर्माता महेन्द्र अधिकारी, अभिनेता प्रदीप र लेखक विकास सुवेदीले हलवालाहरुको नियतमाथि प्रश्न उठाए ।

पत्रकार सम्मेलनमा प्रदीपले शो नदिए चोक-चोकमा प्रोजेक्टरबाट चलचित्र देखाउने घोषणा समेत गर्न भ्याए । विशेषगरी नेपालको ठूलो चेन नेटवर्क क्यूएफएक्सप्रति उनको आक्रोशित देखिन्थे । अन्ततः उनको आक्रोशले काम गरेको छ । शुक्रवारका लागि ‘प्रकाश’लाई १६ शो बाँडेको क्यूएफएक्सले शनिवारलाई ठूलो मात्रामा शो संख्या बढाएको छ । शनिवार क्यूएफएक्स चेनमा चलचित्रले २६ शो पाएको छ । सुवर्ण थापा निर्देशित ‘राधा’लाई भने १३ शोज उपलब्ध गराइएको छ ।
दोस्रो दिनका लागि ‘प्रकाश’को शो संख्या बढ्नुमा प्रदीपको आक्रोशसँगै ‘लाइगर’को कमजोर रेटिङले ठूलो काम गरेको देखिन्छ । ‘लाइगर’लाई भारतीय समीक्षकहरुले दयनीय रेटिङ दिएका छन् । जसको असर नेपाली बक्सअफिसमा पनि परेको छ । शुक्रवार यो चलचित्र खासै चलेन । अग्रिम बुकिङ हेर्दा शनिवार पनि व्यापार सुखद् हुने देखिन्न । यसको फाइदा ‘प्रकाश’ र ‘राधा’लाई हुन सक्नेछ ।