आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको यस वर्षको प्रतिक्षीत चलचित्र ‘बाबरी’की निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ चलचित्र निर्माण गर्ने घोषणा गरेकी छन् । आफू निर्मित पहिलो चलचित्र रिलिज नहुँदै बुढाथोकीले नयाँ अनटाइटल प्रोजेक्टको घोषणा गरेकी हुन् ।
चलचित्रमा मुख्य कलाकारको रुपमा ‘बाबरी’कै धिरज मगर र अदिति बुढाथोकी फाइनल भएका छन् । निर्मात्री पुष्पलताका अनुसार, अहिले स्क्रिप्ट लेखनको काम भैरहेको छ । यस अनटाइटल प्रोजेक्टको लागि निर्देशक तय भएका छैनन् । आगामी फागुनदेखि चलचित्र छायांकनमा जानेछ ।
‘बाबरी’ यतिबेला चर्चामा छ । चलचित्रमा समावेश ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’गीत चार्टबस्टरमा हिट भैसकेका छन् । ११ लाख भ्युज पाइसकेको ट्रेलरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा धिरज र अदितीसँग अभिनेत्री तृप्ति नाडकरका छोरा धिरज नाडकरको मुख्य भूमिका छ ।