‘सम्हालिन्छ कहिले मन’मा मेकिङ क्वालिटी उच्च छ : सुदर्शन थापा



यही १७ भदौबाट ठूलो लगानीमा निर्माण भएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आउँदैछ । यसको ९० प्रतिशतभन्दा धेरै सुटिङ बेलायतमा गरिएको छ । ट्रेलर र गीतहरुले राम्रै चर्चा पाइसकेका छन् । सामाजिक सञ्जालमा ‘जरुरी कुरा’, ‘हराएँ हराएँ’ छोटो समयमै लोकप्रिय भइसकेका छन् ।

नेपाली चलचित्रलाई एक स्टेप माथि लैजाने उद्देश्य बोकेर चलचित्रको निर्माण गरिएको निर्देशक सुदर्शन थापाले बताएका छन् । ‘चलचित्र भनेको निर्देशकले भिजुअल्ली देखेको एउटा आर्ट हो । त्यसलाई पूरा गर्नका लागि निर्माताले पैसा खर्च गर्नुपर्ने हुन्छ । हाम्रा निर्माताहरु यो चलचित्रलाई चलनचल्तिका चलचित्रभन्दा एक स्टेपमाथि लैजानेमा स्पष्ट हुनुहुन्थ्यो, त्यसैले कुरा प्रतिफलको होइन, हामी कुन लेभलमा पुग्ने भन्ने हो ।’

निर्देशकका रुपमा कथासँगै चलचित्रको मेकिङ पनि राम्रो हुनुपर्छ भन्नेमा आफ्नो मत हुने गरेको सुदर्शनको कथा छ । ‘सम्हालिन्छ कहिले मन’को मेकिङ बलिउडका ए स्ट्यान्डर्डका हिट चलचित्र बराबर रहेको उनी दाबी गर्छन् । चलचित्रमा कुनै कम्प्रमाइज नगरेको पनि उनले बताए ।

त्रिकोणात्मक प्रेमकथामा धेरै चलचित्र बनिसकेका छन्, यो चलचित्र किन हेर्ने ? जवाफमा निर्देशक थापा भन्छन्, ‘कुनै कन्टेन्ट कसैलाई मन पर्ला, कसैलाई मन नपर्ला । त्यो व्यक्तिगत रोजाईको विषय हो । तर, हामीले अर्गानिक भन्दै शिक्षा दिने, उपदेश दिने चलचित्र बनाएपनि मेकिङ पार्टलाई बेवास्ता गर्दै आएका छौं, यो नै दर्शकले सबैभन्दा धेरै ख्याल गर्ने कुरा हो । त्रिकोणात्मक प्रेमकथा हुँदाहुँदै पनि यो मेकिङ र क्वालिटीमा यसको लेभल निकै हाई छ । यदी तपाईको उद्देश्य हलभित्र छिरेपछि तीनघण्टासम्म कुर्सीमा बसेर कम्प्लिट इन्टरटेनमेन्ट गर्ने हो भने ‘सम्हालिन्छ कहिले मन’ हेर्दा त्यो इच्छा पूरा हुनेछ ।’

निर्माता अजित कुमार थापाले चलचित्रलाई ‘मेगा चलचित्र’ भन्न रुचाउँछन् । ‘जति पनि मेहिनत गरेका छौं । त्यो ट्रेलर र गीतमा देखिएको छ । अब १७ भदौमा सबै झल्कनेछ । यो चलचित्रका लागि हामीले कुनै पनि कम्प्रमाइज गरेका छैनौं । यो एउटा मेगा प्रोजेक्ट हो र यसले नेपाली चलचित्रको बजारलाई नै अन्तर्राष्ट्रियकरण गर्नेछ,’ उनले भने ।

अभिनेता आकाश श्रेष्ठले हलिउड र बलिउड चलचित्रमा हेर्दै आएका ठाउँहरुमा गएर सुटिङ गर्न पाउनु आफ्नो टिमका लागि खुसीको कुरा भएको बताउँछन् । ‘लण्डन र दुबईका ती स्थान, जसलाई हामीले बलिउड र हलिउड चलचित्रमा देखेका थियौं । त्यही स्थानमा गएर सुटिङ गर्न पाउनु भाग्यको कुरा हो, मैले आफूलाई निकै भाग्यमानी महसुस गरेँ,’ उनले भने ।

लण्डनमा दुई महिनाभन्दा लामो समय बस्दाको अनुभव निकै रमाइलो रहेको अभिनेत्री पुजा शर्माले बताइन् । ‘दुई महिनाभन्दा लामो समय विदेश बसेर सुटिङ गर्दाको अनुभव पनि रमाइलै रह्यो । स्कटल्यान्डको जाडोमा डिसेम्बर र जनवरीमा पातलो कपडा लगाएर सुट गर्न सजिलो थिएन । तर हामीले पर्दामा त्यो देखिन दिएका छैनौं । हाम्रा अफ्ठेरा पर्दामा देखिन्नन्, पर्दामा दर्शकले चाहेजस्तो अभिनय देखिनेछ,’ उनले भनिन्, ‘चलचित्रमा शतप्रतिशत मेहिनत गरेको छु । विदेशमा खिचिएको चलचित्र भएकाले तपाईको आँखालाई पनि फ्रेस फिल गराउँछ । यसको कन्टेन्टले तपाई मनमा छुन्छ ।’

यो चलचित्रबाट सोनम तोप्देनले अभिनेताको रुपमा डेब्यू गर्दैछन् । गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् । एवि इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्रमा सौरभ लामाको छायांकन, अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu