बडा दशैंको अवसर पारेर आगामी असोज ७ गते नेपाली र हिन्दी भाषामा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को निर्माण टिमलाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ । हिन्दी भाषामा डब भएर पहिलो पटक नेपाली चलचित्र भारतमा प्रदर्शन हुन लागेको खुसीमा बोर्डले आइतवार एक कार्यक्रमका बीच चलचित्रका निर्देशकदेखि कलाकारसम्मलाई सम्मान गरेको हो ।

कार्यक्रममा बोर्ड अध्यक्ष भुवन केसीले चलचित्रको टिमलाई शुभकामना दिँदै सम्मानस्वरुप गौतम बुद्धको मुर्ति प्रदान गरे । उनले नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउन ‘प्रेमगीत ३’को टिमले गरेको प्रयास प्रशंसनीय रहेको बताए । उनले चलचित्रलाई बोर्डले हरेक प्रकारको सहयोग गर्ने पनि प्रतिवद्धता जनाए । ‘म नेपाली चलचित्र विश्व बजारमा पुग्नुपर्छ भन्ने सोच्थेँ । ‘प्रेमगीत ३’को टिमले यसको लागि प्रयास गरेकोमा ज्यादै खुसी छु,’ उनले भने ।
भारतमा हिन्दी भाषामा रिलिज हुन लागेको ‘प्रेमगीत ३’ले नेपाली कला, संस्कृति र भाषालाई विश्वमा चिनाउन ठूलो भूमिका खेल्नेमा उनी विश्वस्त छन् । चलचित्रले नेपालको पर्यटन प्रवद्र्धनमा पनि धेरै सघाउने उनको भनाई छ । ‘प्रेमगीत ३’ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुग्न बाटो खोल्ने विश्वास व्यक्त गर्दै केसीले नेपाली र हिन्दी दुवै भाषाका लागि सफलताको शुभकामना दिए ।

बोर्डबाट सम्मान ग्रहण गरेपछि निर्देशक तथा निर्माता सन्तोष सेनले बोर्डको प्रोत्साहनले ठूलो हौसला मिलेको बताए । उनले नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउन सिंगो चलचित्र क्षेत्र एकजुट हुनुपर्ने धारणा राखे । कार्यक्रममा सेनसँगै कलाकारहरु सुनिल थापा, शिव श्रेष्ठ, प्रेम पुरी, मनिष राउतलगायत उपस्थित थिए । तर, अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ भने उपस्थित थिएनन् ।