‘जय शम्भु’ निर्देशकको ‘राजकुमारी’मा काम गर्दै पुष्प र पूजा



अभिनेता पुष्प खड्का र अभिनेत्री पूजा शर्मालाई एकसाथ चलचित्रमा हेर्ने दर्शकहरुको इच्छा अब पूरा हुने भएको छ । ‘जय शम्भु’ फेम्ड निर्देशक रूपेश तामाङ्गको निर्देशनमा बन्न लागेको चलचित्र ‘राजकुमारी’मा उनीहरुले काम गर्न लागेका हुन् । पुष्पले हालै यो चलचित्र साइन गरेका हुन् भने पूजासँग निर्माताले लकडाउन अगावै सम्झौता गरेका थिए । चलचित्र लभस्टोरी र एक्सन जनरामा बन्नेछ ।

निर्देशक तामाङ्ग भदौ अन्तिमबाट छायांकन सुरु गर्ने तयारीमा छन् । तर, पूजा र पुष्पको व्यस्त सेड्युलका कारण दशैंअघि चलचित्र छायांकनमा जाने सम्भावना न्यून छ । अहिले चलचित्रको स्क्रिप्ट करेक्सनको काम भइरहेको छ । प्राप्त जानकारी अनुसार, चलचित्रको छायांकन भारतको कालिम्पोङ क्षेत्रमा हुनेछ । गत अगस्टमा निर्देशक तामाङ्ग लोकेशन हन्टिङ्गका लागि कालिम्पोङ पुगेका थिए ।

पूजा र पुष्पलाई एकसाथ चलचित्रमा हेर्ने दुवैका फ्यानहरुको ठूलो इच्छा थियो । चलचित्र ‘अझै पनि’मा एकसाथ काम गरेको भए पनि त्यसमा उनीहरु जोडीको रुपमा थिएनन् । लकडाउनयता केही म्यूजिक भिडियोमा काम गरेकाले दर्शकहरुलाई यी दुईको जोडी मन परेको छ । उनीहरुबीच राम्रो सम्बन्ध पनि छ । गोप्य स्रोतका अनुसार, ‘राजकुमारी’का लागि पूजाले नै पुष्पलाई रोजेकी हुन् ।

२०७६ सालमा रूपेश तामाङ्गको निर्देशनमा चलचित्र ‘मन परेसी पर्‍यो पर्‍यो’को घोषणा गरिएको थियो । चलचित्रमा पूजा र आकाश श्रेष्ठले मुख्य भूमिकामा काम गर्ने तय थियो । चलचित्रको मुहूर्त समेत भएको थियो । तर, पछि यो चलचित्र निर्माण हुन सकेन । अब उक्त नाम परिवर्तन गरेर आकाशको ठाउँमा पुष्पलाई अनुबन्ध गर्दै निर्देशक तामाङ्गले ‘राजकुमारी’ बनाउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu