तेलुगू चलचित्र ‘गडफादर’को छायांकनका लागि निर्माताले नेपालको जोमसोम विमानस्थलको अवलोकन गरेका छन् । ४/५ मिनेटको सिनको छायांकनका लागि निर्माताको टिम जोमसोमको अवलोकन गरेर भारत फर्किएको विदेशी चलचित्रको नेपाल व्यवस्थापन हेर्दै आएका सूरज आचार्यले जानकारी दिए । मंगलवारसम्म चलचित्रको नेपालमा छायांकन हुने वा नहुने भन्ने कुराको टुंगो लाग्ने उनले बताए ।

‘चलचित्रको लोकेशन हेर्न कार्यकारी निर्माता नेपाल आउनुभएको थियो । अलि उचाईंमा विमानस्थल र गाडी पनि जाने ठाउँ खोज्नु भएपछि मैले जोमसोम विमानस्थलको अवलोकन गराएँ । उहाँलाई लोकेशन मन परेको छ । भोली टिमसँग सल्लाह गरेर उहाँले हामीलाई निर्णय दिनुहुनेछ,’ सूरजले भने । निर्देशकलाई पनि लोकेशन मन परे सेप्टेम्बरमा नेपालमा चलचित्रको छायांकन हुनेछ ।
चलचित्रमा तेलूगू चलचित्रका मेगास्टार चिरञ्जीवीको मुख्य भूमिका छ भने बलिउड सुपरस्टार सलमान खान अतिथी भूमिकामा छन् । छायांकनका लागि निर्माण टिमले जोमसोम विमानस्थल ‘लक’ गरे दुवै नेपाल आउनेछन् । नेपालमा उनीहरु दुईजनाको मात्र सिन रहेको छ । गत हप्ता चिरञ्जीवीको जन्मदिनमा चलचित्रको टिजर सार्वजनिक गरिएको थियो ।
नयनतारा, पुरी जगन्नाध, सत्य देवलगायतको पनि अभिनय रहेको चलचित्रका निर्देशक मोहन राजा हुन् । चिरञ्जीवीका छोरा राम चरण, आरवी चौधरी र एनभी प्रसादले चलचित्रको निर्माण गरेका हुन् । चिरञ्जीवी र राम चरणसँगको मित्रताका कारण सलमानले यो चलचित्रमा काम गर्न पारिश्रमिक लिएका छैनन् । आगामी अक्टोबर ५ लाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ ।