‘प्रकाश’ले राजनीति गर्नेहरुलाई झकझकाउँछ : गगन थापा



नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले चलचित्र ‘प्रकाश’ले कर्णालीको जनजीवन, भाषा, भेषभुषा, त्यहाँको समाज बुझ्न चाहने जो कोहीलाई काठमाडौंमै बसेर राम्रोसँग जुम्ला देखाउने र चिनाउने बताएका छन् । आइतवार जमलस्थित विश्वज्योति हलमा चलचित्र हेरेका उनले चलचित्रको कथावस्तु, प्रस्तुतीकरण र कलाकारहरुको अभिनयको मुक्तकण्ठले प्रशंसा गरे ।

उनले भने, ‘अहिले संसद्मा जनयुद्धमा मृत्य र बेपत्ता भएका नागरिकहरुको सन्दर्भमा एउटा विद्येयक बनिरहेको छ । त्यो विद्येयक बनाउँदै गर्दा हामीले द्वन्द्वकालको थुप्रै कथाहरु बिर्सिसकेका छौं । हामीले द्वन्द्वकालमा यति हजारको मृत्यु र यति हजार बेपत्ता भए भनेर त्यसलाई सामान्यकरण गरेका छौं । तर, त्यो हजारसँग समाज र परिवार कसरी जोडिएको छ भन्ने कुरा चलचित्रले देखाउँछ ।’

नेपाली समाजले लामो समयसम्म भोगेको दर्दनाक समयलाई राजनीति गर्नेहरुले बिर्सिन खोजिरहेको अवस्थामा ‘प्रकाश’ले राम्रोसँग सम्झाएको उनको भनाई छ । उनी चलचित्रको कथा र कलाकारको अभिनय जीवन्त रहेको बताउँछन् । द्वन्द्वकालको समय र पीडा नभोगेको पुस्तालाई पनि एकपटक चलचित्र हेर्न उनको आग्रह छ । उनले राजनीति गर्ने सबैलाई चलचित्रले झकझकाउने पनि बताए ।

गगन अगाडि भन्छन्, ‘चलचित्रमा बेपत्ता भएको एक पात्रको परिवारको कथा छ । हामीले त ती मानिसहरुलाई बिर्सिसक्यौं । एक/दुई लाख रुपैयाँ राहत दियौं र त्यो फाइल बन्द गर्‍यौं । तर, त्यसको कथा चाहिँ हामीले त्यही मान्छेसँग मात्र छाडिदियौं । तर, के द्वन्द्वकाल टुंगिँदैमा त्यसले दिएको घाउ निको भयो त ? चलचित्रले उठाएको सशक्त पक्ष त्यो हो । मलाई चलचित्र एकदमै मनपर्‍यो ।’

शुक्रवारबाट प्रदर्शनमा आएको ‘प्रकाश’को ‘वर्ड अफ माउथ’ बलियो छ । शनिवार सुखद् व्यापार गरेको चलचित्रले हलमा दर्शकको उपस्थिति बढाउँदै लगेको छ । शिक्षक बन्न संघर्ष गर्ने एक जुम्ली युवकको कथामा आधारित चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थीलगायतको अभिनय रहेको चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu