गायकको रुपमा परिचित सोनम तोप्देनले भदौ १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’बाट अभिनेताको डेब्यू गरेका छन् । यो अभिनेता उनले गायन कलाकै कारण पाएका हुन् । अभिनेत्री पूजा शर्माले सोनमले गाएको कभर गीत सुनेपछि निर्देशक सुदर्शन थापालाई उनको नाम सिफारिस गरेकी थिइन् । र, सुदर्शनले पनि सोनमको लुक्स मन पराएपछि चलचित्रमा लिएका थिए ।
यो चलचित्र चार वर्ष अगाडि नै निर्माण भएको हो । तर, विभिन्न कारण फिल्म रिलिज हुन ढिलाई थियो । यो बीचमा उनले सुदर्शन निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरीपरी’ गीत गाए, जसले उनलाई थप लोकप्रियता दिलायो । अब उनी पहिलो चलचित्रमा गरेको अभिनयको प्रतिक्रिया बुझ्न आतुर छ । चलचित्र रिलिज नजिकिँदै गर्दा सोनमको मुटुको धड्कन बढेको छ ।

गायनमै सक्रिय रहँदा सोनम सोच्थे- ‘मेरो जीवन नै गीत गाएर वित्नेछ ।’ तर, ‘सम्हालिन्छ कहिले मन’मा अभिनय गरेपछि उनीलाई लागेको छ, ‘अब अभिनय छाड्न सक्दिनँ ।’ उनी अब अभिनय र गायनलाई एकसाथ लिएर अगाडि बढ्ने योजनामा छन् । उनले चलचित्रमा काम गरेपछि अनुप बरालबाट अभिनयको कक्षा समेत लिए । यसको अर्थ उनी अभिनयप्रति निकै गम्भीर बनेका छन् ।
एक भेटमा सोनमले भने, ‘म चलचित्रमा आउनुभन्दा अगाडि गीत गाइरहेको थिएँ । त्यसबेला लाग्थ्यो कि म जीवनभरी गीत नै गाएर बस्नेछु । तर, जीवनमा सोचेको जस्तो नहुने रहेछ । भनिन्छ, जीवनमा भगवानले अर्को बाटो पनि देखाइदिनु हुन्छ । सुदर्शन सरले नै मलाई अर्को बाटो देखाइदिनु भयो । अब त्यो बाटोमा कसरी हिँड्ने, मेरै हातमा छ । म त्यो बाटोमा राम्रोसँग हिँड्ने प्रयास गर्नेछु ।’
चलचित्रमा सोनमले रोमनको क्यारेक्टर निभाएका छन् । त्यो क्यारेक्टरलाई न्याय गर्न हिँड्नेदेखि बोल्नेसम्मको शैली सिकेको उनी स्मरण गर्छन् । क्यारेक्टरका लागि मिहेनत गरिरहँदा पहिलो चलचित्र भएकाले उनको मनमा डरले डेरा जमाएको थियो । तर, सुटिङ सेटमा निर्देशक सुदर्शन थापाले आफूलाई कम्फर्ट जोनमा राखेकाले काम गर्न धेरै सजिलो भएको सोनमको अनुभव छ ।
बलिउड चलचित्रको चर्चित गीतको कभर गाएर सोनमले युवापुस्तामा ठूलो फ्यान फलोइंग बनाएका छन् । ‘जब हैरी मेट सेजल’को ‘हवाएं हवाएं’, ‘टाइगर जिन्दा है’को ‘दिल दियां गल्लां’, ‘हाफ ‘गर्लफ्रेन्ड’को ‘मैं फिर भी तुमको चाहुंगा’ गीतको कभर गाएर लोकप्रियताको सिढी चढेका सोनमले चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरीपरी’ गीत पनि गाएका छन् । उनी तिब्बतीयन नागरिक हुन् ।


