‘ऐना झ्यालको पुतली’को ‘मेरो गाउँ ज्यामिरे’ गीत रिलिज



भदौ २४ मा प्रदर्शनमा आउन लागेको चलचित्र ‘ऐना झ्यालको पुतली’मा समावेश गरिएको बाल गीत सार्वजनिक भएको छ । ‘मेरो गाउँ ज्यामिरे’ बोलको गीत चलचित्रझैँ केटाकेटीको वरिपरि रहेर तयार गरिएको छ । रामबाबु सुवेदीको शब्द रचना रहेको गीतमा रामेश श्रेष्ठको संगीत रहेको छ । गीतमा टेम्दो छिरिङ, अङ्गमु लामा र स्वर्णिम स्कुलका विद्यार्थीहरूले आवाज दिएका छन् ।

रामबाबु सुवेदीका अनुसार यो गीत उनले २०४० सालमा रचना गरेका थिए । २०४२ सालमा रामेश श्रेष्ठले यसको संगीत गरेका थिए । रेडियो नेपाल तथा एफएममा बज्दै आएको यही बाल गीतलाई निर्माण टिमले चलचित्रको ओर्जिनल साउन्ड ट्रयाक (ओएसटी) को रुपमा सार्वजनिक गरेको हो । रचनाकार रामबाबु सुवेदीले आफूले गीतमा कल्पना गरे जस्तै चलचित्रको कथा पनि दुरुस्त रहेकाले गीत प्रयोगका लागि अनुमति दिएको बताए ।

लेखक तथा निर्देशक सुजित बिडारीले गीत आफूले कलेज पढ्दाको समयमा सुनेको भए पनि गीतले नोस्टाल्जिक बनाएकाले चलचित्रमा पनि यही कारणले प्रयोग गर्ने निर्णय गरेको बताए । ‘यो गीत मैले सानामा सुनेको पनि थिएँ होला तर कलेज पढ्दा ख्याल गरेको थिएँ । यतिबेला सुन्दा पनि म नोस्टाल्जिक बनेको थिएँ । अहिले यो चलचित्रमा गीत राख्ने कारण हाम्रो यही नोस्टाल्जिया फर्काउने होस् । किनकि यो चलचित्र नै एक प्रकारको हाम्रो नोस्टाल्जिया हो,’ सुजितले भने ।

बुसान, ढाका, फ्रिबर्ग लगायत थुप्रै अन्तर्राष्ट्रिय फेस्टिभलमा छनौट भएको तथा पुरस्कृत भएको चलचित्रले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा पेस गर्छ जुन परिवार अर्थ अभावका कारण छोरीलाई माध्यमिक शिक्षा दिन पनि संघर्ष गर्छ । योबाहेक फिल्मले बाल्यकाल र योसँग स्मृतिका कथा पनि पेश गर्छ ।

सुजित बिडारीको निर्देशन रहेको चलचित्रलाई आकाश पौडेल, रामकृष्ण पोखरेल, प्रविन स्याङ्बो र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन् । केही दिनअघि विश्वव्योति मलमा भएको स्पेसल स्क्रिनिङमा चलचित्र हेर्नेले चलचित्रलाई असाध्यै राम्रो बनेको प्रतिक्रिया दिएका थिए । चलचित्रमा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटी आदिले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu