हलले विभेद गरेको भन्दै निर्माताले रोके ‘राधा’को प्रदर्शन



मल्टीप्लेक्सहरुले शो बाँडफाँटमा विभेद गरेको भन्दै शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘राधा’ले प्रदर्शन रोक्ने निर्णय गरेको छ । मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले मल्टीप्लेक्सहरुले प्राइम टाइम र पर्याप्त शो नदिएका कारण मंगलवारबाटै चलचित्रलाई हलहरुबाट उतार्ने घोषणा गरेको हो । यसको जानकारी निर्माताले हल सञ्चालक र प्रदर्शन दुवैलाई गराएको छ ।

निर्मात्री दिवकी विष्टले प्रदर्शनको पहिलो दिनदेखि नै ‘राधा’लाई शो बाँडफाँडमा मल्टीप्लेक्सहरुले चरम विभेद गरेको र चलचित्रलाई उपलब्ध शो पनि दर्शकका लागि अनुकूल समयमा नभएका कारण प्रदर्शन रोक्ने निर्णय गरेको जानकारी दिइन् । नेपाली चलचित्रलाई प्रदर्शकले गरेको विभेद असैह्य रहेको बताउँदै उनले चलचित्र उतार्ने जानकारी हल र वितरक दुवैलाई गराएको बताइन् ।

चलचित्रको बलियो ‘वर्ड अफ माउथ’का कारण हलमा दर्शकहरु आउने क्रम बढेको भए पनि मल्टीप्लेक्सहरुले शो घटाएको निर्मात्री विष्टको आरोप छ । उनले भनिन्, ‘बोल्नेहरुको चलचित्रलाई मात्र शो बढाइयो । तर, नबोल्नेलाई शो नै दिइएन । तीजको विदामा चलचित्र हेर्न दर्शक आउने आशा थियो । तर, आजै चलचित्रले राम्रो शो पाएन । अनि, चलचित्रलाई उतार्ने निर्णय लिएका हौं ।’

प्रदर्शकहरुबाट अपेक्षित सहयोग नमिलेको बताउँदै निर्देशक सुवर्ण थापाले नयाँ शैलीमा पुनः रिलिज गर्ने गरी अहिलेलाई चलचित्रको प्रदर्शन रोकेको बताए । चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, दयाहाङ राई, दिव्य देव, निश्चल बस्नेत, खगेन्द्र लामिछानेलगायतको अभिनय छ । चलचित्रलाई समीक्षक र दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । विशेषगरी सृष्टिको अभिनयको प्रशंसा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu