‘प्रकाश’ले हलमा रूवाइदियो : रविन्द्र मिश्र



भदौ १० गतेबाट प्रदर्शन थालनी गरेको दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’ले सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । चलचित्र हेरेर दर्शकसँगै विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रशंसा गरिरहेका छन् । यसैक्रममा, विवेकशिल साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले मंगलवार चलचित्र हेरेर सामाजिक सञ्जालमा प्रशंसाको शब्द कोरेका छन् । उनले चलचित्रले आफूलाई रुवाएको बताएका छन् ।

चलचित्रका निर्देशक दिनेश राउत, निर्माता महेन्द्र अधिकारी, अभिनेत्री दीया मास्के र लेखक विकास सुवेदीसँग खिचेको एक तस्विर पोस्ट गर्दै मिश्रले लेखेका छन्, ‘चलचित्र ‘प्रकाश’ले साँच्चिकै रूवाइदियो । आज म र मेरी श्रीमतीले ‘प्रकाश’ हेर्‍यौँ । म धेरै चलचित्र हेर्ने मान्छे होइन तर आजसम्म मैले अनेक स्वदेशी र विदेशी चलचित्र हेर्दा आँसु नै झारेर रोएको थिइनँ । ‘प्रकाश’ले हलमा रूवाइदियो ।’

काठमाडौँमा जन्मिएको भए पनि आधा स्कूले जीवन सुदूर पश्चिममा टुकी बालेर स्कूलमा पढेको हुनाले पनि चलचित्रका दृश्यहरुले आफ्नो भावनासँग बढी तादात्म्य राखेको हुनसक्ने उनको बुझाई छ । उनले चलचित्रमा धेरै सन्देश रहेको पनि उल्लेख गरेका छन् । शहरमा हुर्केका, कर्णाली नदेखेका छोरा-छोरीलाई एकपटक चलचित्र हेराइदिन पनि मिश्रले सबै बुबा-आमालाई आग्रह गरेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘गरिबी, माओवादी द्वन्द्व, समाज शिक्षाको चरम राजनीतिकरण र एउटा असल युवाको सरकारी शिक्षक बन्ने सपनाको दुखान्त समिश्रण हो, ‘प्रकाश’ । लेखन, निर्देशन, अभिनय र प्रस्तुति सबै दृष्टिकोणबाट फिल्म उत्कृष्ट छ । राम्रो र शक्तिशाली चलचित्र बनाउन गीत-संगीत-नृत्य नभए पनि हुन्छ र विषयवस्तु सामान्य भए पनि हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो ‘प्रकाश’ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu