आकाश अधिकारी दोस्रो पटक निर्माता संघको अध्यक्षमा नउठ्ने



नेपाल चलचित्र निर्माता संघले पाँच वर्षपछि नयाँ कार्यसमिति पाउँदैछ । कोरोना महामारीका कारण संघको चुनाव हुन ढिलाई भएको थियो । यही भदौ १८ गते निर्माता संघको चुनावी वार्षिक साधारण सभा हुँदैछ । निर्वाचन नजिकिँदै गर्दा विभिन्न निर्माताहरुले विभिन्न पदमा आकांक्षा राख्दै उम्मेदवारी घोषणा गरिरहेका छन् । केही दिनअघि नवल खड्काले अध्यक्षमा उठ्ने घोषणा गरेका थिए ।

वर्तमान अध्यक्ष आकाश अधिकारी पनि दोस्रो कार्यकालका लागि संघको अध्यक्षमा उठ्ने चर्चा चलेको थियो । तर, उनले बुधवार फेसबुकमा स्टाटस लेख्दै दोस्रो कार्यकालका लागि अध्यक्षमा नउठ्ने घोषणा गरेका छन् । आफू अध्यक्षमा निर्विरोध निर्वाचित भएकै दिन दोस्रो कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गरेकाले यसपटक आफ्नो उम्मेदवारी नरहने उनले बताएका छन् ।

अध्यक्ष अधिकारीले लेखेका छन्, ‘समय परिस्थितिले बाध्यताबस् अवधिभन्दा बढी नै समय यस संस्थामा व्यथित गरेँ, जुन मेरो लागि एक बोझ नै भैसकेको थियो । त्यस समय मैले आफ्नो घोषणा पत्रमा चलचित्र क्षेत्रलाई फाइदा पुग्ने यी-यी काम गर्छु भनेर उल्लेख गरेको थिएँ, जसबाट अधिकांश काम पूरा गरेको छु र बाँकी केही अधुरा काम निवर्तमान अध्यक्ष रहेर पनि पूरा गर्ने वाचा गर्छु ।’

आफ्नो कार्यकालमा संघको पहलमा चलचित्र क्षेत्रलाई राष्ट्रिय मान्यता प्राप्त उद्योगको सूचिमा राख्न सफल भएको, नेपाली चलचित्रको स्क्रिप्टलाई हिन्दी भाषामा अनुवाद गरेर भारतमा गरिने सेन्सरको पनि अन्त्य गरेको, निर्माणका क्रममा निर्माताले भोग्नु पर्ने सम्पूर्ण जोखिमबाट बचाउन प्रोजेक्ट इन्सुरेन्स ल्याएको आकाशले बताएका छन् । उनी नेपाल उद्योग बाणिज्य महासंघका सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu