अभिनेता पल शाहको मुद्धाको सुनुवाइ स्थगित भएको छ । जिल्ला अदालत तनहुँले शाहमाथि लागेको बलात्कार सम्बन्धि मुद्धाको सुनुवाइका लागि बुधवार (आज) को म्याद तोकेको थियो । तर, उनको मुद्धा हेर्ने न्यायाधीश अनुपस्थित भएपछि सुनुवाइ स्थगित भएको हो । शाहको बलात्कार सम्बन्धि मुद्धा तनहुँ जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो ।

शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा छ । शाहका अधिवक्ता कमला मोहन वाग्लेकाअनुसार नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ । तनहुँ अदालतले भने सुनुवाईका लागि अर्को म्याद तोकेको छैन । शाहमाथि एक नाबालिगले करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी थिइन् ।
गत चैत १० गते तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि पूर्वी नवलपरासी अदालतले पनि पललाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुद्ध पलका वकिलले उच्च अदालत पोखरामा पुनरावेदन चढाएका थिए । तर, उच्च अदालत पोखराले पनि उनलाई थुनामै पठाउन आदेश जारी गर्यो ।