‘दुई नम्बरी’ गीतमा सौगातको दयाहाङसँग मित्रता र उपासनासँग प्रेम



दीपेन्द्र लामा निर्देशित चलचित्र ‘दुई नम्बरी’को पहिलो गीत सार्वजनिक भएको छ । बुधवार यूट्युबमा सार्वजनिक भएको ‘झलल आयो तिम्रो याद’ बोलको गीतमा मेलिना राई र जयन जे. वाइवाको स्वर रहेको छ भने गायक वाइवाकै शब्द तथा संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतले अभिनेता सौगात मल्ल र अभिनेत्री उपासना सिंह ठकुरीबीचको प्रेमभाव बोलेको छ ।

गीतमा सौगात र उपासना रोमान्टिक मुद्रामा प्रस्तुत छन् । सौगातलाई उपासनाको मायामा डुबेको पात्रको रुपमा चित्रण गरिएको छ । भिडियोमा उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ । उनीहरुले पहिलो पटक एकसाथ काम गरेका हुन् । सौगातको भिन्न गेटअप दर्शकलाई हलसम्म तान्ने अस्त्र बन्न सक्नेछ । गीतको भिडियोमा सौगात र अभिनेता दयाहाङ राईको मित्रतालाई पनि देखाइएको छ ।

‘कबड्डी ४’पछि दयाहाङ र सौगात एकसाथ देखिएकाले ‘दुई नम्बरी’को दर्शकमा ठूलो प्रतिक्षा छ । चलचित्रले उनीहरुको मित्रताको कथा भनेको छ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्रमा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानी छ भने किरण नेपाली प्रस्तुतकर्ता हुन् । किरणले यसअघि चलचित्र ‘पोइ पर्‍यो काले’को निर्माण गरेका थिए, जुन सफल भएको थियो ।

सरोज नेपाली कार्यकारी निर्माता रहेको यस चलचित्रको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् । चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको दृश्य सम्पादन र जयन जे वाइवाको संगीत रहेको छ । यो चलचित्रबाट भुटानकी चर्चित अभिनेत्री उगेन छोदेनले नेपाली चलचित्रमा डेब्यू गर्दैछिन् । यो चलचित्र असोज २१ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu