‘झिँगेदाउ’ प्रिमियरमा कथावस्तुदेखि कलाकारको अभिनयसम्मको प्रशंसा



भदौ १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘झिँगेदाउ’ले प्रिमियरमा सुखद् प्रतिक्रिया बटुलेको छ । बुधवार साँझ राजधानीको बिग मुभिजमा आयोजित प्रिमियरमा करीब ४ सय बढी चलचित्रकर्मी र अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो । जसमध्ये प्रायःले चलचित्रको कथावस्तु, हरेक कलाकारको अभिनय र निर्देशकिय पाटोको प्रशंसामा शब्द खर्चिए ।

धेरैपछि चलचित्रको प्रिमियरमा पुगेका कलाकार दीपकराज गिरीले ‘झिँगेदाउ’ जस्तो चलचित्रलाई सबैले साथ र सहयोग गर्नुपर्ने धारणा राखे । उनले यसप्रकारका राम्रा चलचित्र कमै बन्ने गरेको र यो चलचित्र हेर्न छुटाउन नहुने पनि बताए । कलाकार तथा निर्देशक दीपाश्री निरौलाले धेरैपछि अर्गानिक र मौलिक कथामा पूर्ण कमर्शियल चलचित्र बनेको बताउँदै सबैको काम राम्रो रहेको बताइन् ।

अभिनेत्री स्वस्तिमा खड्काले ‘झिँगेदाउ’ फरक शैलीमा बनेको कमर्शियल चलचित्र भन्दै प्रशंसा गरिन् । ‘गाउँघरको कथा हुँदा हुँदै पनि कलरफुल र रमाइलो तरिकाले बनाइएको छ,’ उनले भनिन्, ‘कलाकारहरुको अभिनय राम्रो छ । केकी दिदी त आफैंमा राम्रो कलाकार भइहाल्नुभयो । आँचलको अभिनयबाट त म सरप्राइज नै भएँ । अर्गानिक कथालाई कमर्शियल शैलीमा बनाइएको छ ।’

अर्की अभिनेत्री रीमा विश्वकर्माले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘ज्ञानेन्द्रजी जत्तिको अनुभवी निर्देशकबाट यतिसम्मको चलचित्र आउँछ भन्नेमा म विश्वस्त थिएँ । मलाई एकपटक हेरेर मन भरिएको छैन । अब परिवारसहित हेर्छु ।’ मोडल गरिमा शर्माले चलचित्रमा हाँसो, रोदन, खुसी सबै तत्व रहेको बताइन् । कलाकारको अभिनय पनि राम्रो रहेको उनको भनाई थियो ।

पुराना निर्देशक उज्जवल घिमिरेले भीमनीधी तिवारीको कृतिलाई ‘झिँगेदाउ’ले पूरा न्याय गरेको बताए । उनले भने, ‘चलचित्र बबाल छ । ग्रामिण परिवेशमा एउटा राम्रो कमर्शियल चलचित्र बनेको छ ।’ त्यस्तै, श्रीमती आँचल शर्माको चलचित्र हेर्न पुगेका उदिप श्रेष्ठले ‘झिँगेदाउ’ राम्रो बनेकोमा खुसी व्यक्त गरे । चलचित्रको कथा निकै बलियो रहेको र सबै कलाकारले जीवन्त अभिनय गरेको बताए ।

प्रिमियरमा चलचित्रकर्मीबाट मिलेको प्रतिक्रियाले उत्साहित भएकी अभिनेत्री केकी अधिकारीले चलचित्र इन्टरटेनिङको प्याकेज रहेको बताइन् । ‘पछिल्लो समय अर्गानिक भनिएको तर इन्टरटेनिङ तत्व नभएको वा इन्टरटेनिङ तत्व भएको तर अर्गानिक कथा नभएको भन्ने कुरालाई ‘झिँगेदाउ’ले पूरा गरेको छ । जुन खालको चलचित्र हेरेर हामी हुर्कियौं, त्यस्तै चलचित्र बनेको छ,’ उनले भनिन् ।

अभिनेत्री आँचल शर्माले पनि दर्शक भएर चलचित्र हेर्दा रमाइलो लागेको प्रतिक्रिया दिइन् । उनी भन्छिन्, ‘म आफैंले दर्शक भएर हेर्दा पात्र र पात्रको अभिनयले बाँधेर राख्यो । घरभित्र र बाहिरको फ्रेम उतिक्कै सुन्दर छन् । समग्रमा सिंगो चलचित्र नै राम्रो र बलियो बनेको छ ।’ चलचित्रका मुख्य कलाकार मुकुन भुषालले मनोरञ्जन लिन चाहने सबैलाई ‘झिँगेदाउ’ हेर्न छुटाउन नहुने बताए ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्रमा केकी, आँचल र मुकुनको अलावा हिँउवाला गौतम, कुशल विष्ट, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय छ । भिमनिधि तिवारीद्वारा लिखित चर्चित कृति ‘झिँगेदाउ’माथि बनेको चलचित्रको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्रको ‘आगो बिना बिँडी जल्दैन’ गीत यतिबेला चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu