राजेन्द्र लिङ्देन भन्छन्, ‘मैले उठाएकै कुरा ‘प्रकाश’ले देखाएको छ’



वर्गीय विभेदको मुद्धा उठाएको चलचित्र ‘प्रकाश’ यतिबेला हलहरुमा प्रदर्शन भइरहेको छ । चलचित्रको विषयवस्तुलाई लिएर यतिबेला राजनीतिक वृत्तमा तरङ मच्चिएको छ । जसका कारण विभिन्न राजनीतिक दलका नेताहरुले चलचित्र हेरिरहेका छन् ।

विगतदेखि नै वर्गीय विभेदको मुद्धा उठाउँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि बुधवार चलचित्र हेरे । चलचित्र हेरेपछि उनले आफूले विगत ७ वर्षदेखि उठाउँदै आएको वर्गीय विभेदकै मुद्धामा ‘प्रकाश’ खरो रुपमा उत्रिएको बताएका छन् । उनले आफ्नो राजनीतिक एजेण्डासँग चलचित्रको विषयवस्तुबीच समानता रहेको पनि बताए ।

उनले भने, ‘राज्यले जनतालाई जातको आधारमा नभइ वर्गका आधारमा सेवा सुविधा दिनुपर्छ । राज्यले गरिबलाई संरक्षण गर्नुपर्छ भन्ने कुरा हामीले उठाउँदै आएका छौं र ‘प्रकाश’ले पनि यही कुरा देखाएको छ । चलचित्रमा देखाए झैं अहिलेको राज्य व्यवस्थाले वर्गीय विभेदलाई प्रोत्साहन गरिरहेको छ, जुन गलत हो । अहिलेको समाज कस्तो छ त्यसलाई पनि यो चलचित्रले चित्रण गरेको छ ।’

नेपाली राजनीतिको विकृतिको मार समाजमा ‘प्रकाश’ जस्तै पात्रले वर्षौंदेखि भोग्दै आउनु परेको बताउँदै अध्यक्ष लिङ्देनले अगाडि भने, ‘यो चलचित्र आम जनताले त हेर्नै पर्छ, त्योभन्दा बढी अहिलेको वर्तमान समयको नेतृत्व गरिरहेको छु भन्ने राजनैतिक दलहरुका सबै नेता तथा कार्यकर्ताहरुले नछुटाइ हेर्नुपर्छ ।’ उनले चलचित्रमा हरेक कलाकारले जीवन्त अभिनय गरेको भन्दै प्रशंसा पनि गरे ।

दिनेश राउत निर्देशित चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । विकास सुबेदीको लेखन रहेको चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । शुक्रवारबाट प्रदर्शनमा आएको ‘प्रकाश’ले बलियो ‘वर्ड अफ माउथ’को साहरामा सुखद् प्रदर्शन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu