हलमा लागे ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगेदाउ’



यो हप्ताका लागि शुक्रवारबाट दुई नेपाली चलचित्र ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगेदाउ’ले प्रदर्शन थालनी गरेका छन् । यी दुवै फरक स्वादका चलचित्र हुन् । लभस्टोरी चलचित्र बनाउन माहिर मानिने सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ भने एक समयका सफल निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ परिवारभित्रको कथामा बनेको छ ।

दुवै चलचित्रका अहिलेका चल्तीका कलाकारहरुको अभिनय छ । ‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्मा र आकाश श्रेष्ठ मुख्य भूमिकामा छन् । यही चलचित्रबाट गायकको रुपमा चर्चित सोनम तोप्देनले नायकको रुपमा डेब्यू गरेका छन् । त्यस्तै, ‘झिँगेदाउ’मा केकी अधिकारी, आँचल शर्मा र मुकुन भुषालको मुख्य भूमिका छ । यो चलचित्रले पनि नायकको रुपमा कुशल विष्टलाई जन्म दिएको छ ।

‘सम्हालिन्छ कहिले मन’मा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतको पनि अभिनय रहेको छ । एवि इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् । चलचित्रको निर्मातामा अमित बस्नेत, सह-निर्मातामा परी राना र अजितकुमार थापा, कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम छन् । चलचित्रको ९५ प्रतिशत छायांकन बेलायतमा भएको हो ।

त्यस्तै, ‘झिँगेदाउ’मा हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय रहेको छ । भिमनिधि तिवारीद्वारा लिखित चर्चित कृति ‘झिँगेदाउ’माथि बनेको चलचित्रको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको ‘झिँगेदाउ’को सह-निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu