‘झिँगेदाउ’को दृश्य टिकटकमा हाल्नेलाई कारवाही गरिने



पछिल्लो समय नेपाली चलचित्रका दृश्यहरु हलमा खिचेर टिकटकमा हाल्ने क्रम बढेको छ । फलोअर्स बढाउने नाममा दर्शकहरुले चलचित्रका महत्त्वपूर्ण दृश्यहरु नै टिकटकमा हालिदिएका हुन्छन् । ‘म यस्तो गीत गाउँछु २’, ‘ए मेरो हजुर ४’, ‘कबड्डी ४’ जस्ता चलचित्रका दृश्य हलमा खिचेर दर्शकहरुले टिकटकमा हालेका थिए । अहिले यसको शिकार चलचित्र ‘झिँगेदाउ’ बनेको छ ।

टिकटकमा ‘झिँगेदाउ’को ३-४ मिनेटसम्मका क्लिपहरु भाइरल छन् । हलमा चलचित्रको दृश्य खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्नु साइबर अपराध हो । निर्माताले साइबर ब्यूरोमा उजुरी दिए कारवाही हुन सक्छ । तर, दर्शकहरुले यो कुरा बुझेको देखिन्नन् । चलचित्रकर्मीहरुले पनि यो कार्य गर्नेविरुद्ध अहिलेसम्म कानुनी बाटो रोजेका छैनन् । जसले गर्दा दर्शकमा कुनै डर देखिएको छैन ।

हलमा चलचित्रको दृश्यहरु खिचेर टिकटकमा हाल्ने क्रम बढेपछि निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजा कानुनी बाटो रोज्ने तयारीमा छन् । उनले भने, ‘हामीले टिकटकमा आएका भिडियो हटाउन टिकटक कम्पनीमा इमेल गरेका छौं । चलचित्रको दृश्य खिचेर टिकटकमा हाल्ने क्रममा नरोकिए हामी कारवाहीका लागि साइबर ब्यूरो जानेछौं । यस्तो कार्य दण्डनीय छ भन्ने बुझ्न जरुरी छ ।’

उनी चलचित्रलाई मिलेको प्रतिक्रियाबाट भने खुसी देखिए । शुक्रवार केही हलमा चलचित्र हाउसफुल भएको बताउँदै उनले शनिवार देशभर दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको जानकारी दिए । देउजाले भने, ‘दर्शकहरुले चलचित्र रुचाउनुभएको छ । काठमाडौंका प्रायः मल्टीप्लेक्समा पाएको शो शनिवार हाउसफुल हुने अवस्थामा छन् । चलचित्रको वर्ड अफ माउथ बलियो छ ।’

केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको अभिनय रहेको चलचित्रले एक परिवारभित्रको कथा उठाएको छ । भिमनिधि तिवारीद्वारा लिखित चर्चित कथा कृति ‘झिँगेदाउ’ माथि आधारित भएर बनेको चलचित्रको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu