शनिवार ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ देशभर हाउसफुल



शुक्रवारबाट देशभर एकसाथ प्रदर्शनमा आएका दुई चलचित्र ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ले हलसम्म दर्शक तान्न सफल देखिएका छन् । प्रदर्शनको पहिलो दिन शुक्रवार देशभर ६०/६५ प्रतिशतको आसपास अकुपेन्सी कायम गरेका दुवै चलचित्रले शनिवार भने ८०/९० प्रतिशत अकुपेन्सी पाउन सफल भए । यसलाई अहिलेको अवस्थामा अत्यन्त सुखद् मान्न सकिन्छ ।

नेपालको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा शनिवारका लागि दुवै चलचित्रले जति शो पाएका थिए, त्यसमा दर्शकको अभाव रहेन । क्यूएफएक्सको लबिम, छायाँ सेन्टर, सिभिल मलमा दुवै फिल्म दिउँसभर लगभग हाउसफुल थिए । बिग मुभिज, एफक्यूब, विएसआर, वान सिनेमाज् लगायतमा पनि दर्शकको उपस्थिति राम्रो थियो । मोफसलका मल्टीप्लेक्समा पनि अवस्था सुखद् रह्यो ।

सिंगलतर्फ पनि शनिवार देशभर दुवै चलचित्र हेर्ने दर्शक उच्च थिए । बालाजुको अष्टनारायण हलमा ‘सम्हालिन्छ कहिले मन’का तीन कलाकारहरु पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन पुग्दा दर्शकहरुको ठूलो भीड देखिएको थियो । अष्टनारायणमा यो चलचित्रको शनिवारको व्यापार ‘कबड्डी ४’पछिकै उच्च रहेको जानकारी प्राप्त छ । अष्टनारायणमा ‘झिँगेदाउ’ले पनि राम्रो व्यापार गरेको छ ।

दुवै चलचित्रको कथावस्तु र कलाकारहरुको अभिनयलाई दर्शकले रुचाएका छन् । ‘झिँगेदाउ’लाई दर्शकहरुबाट मिलेको प्रतिक्रियाले अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्मा खुसी देखिएका छन् । केकी भन्छिन्, ‘दर्शकहरुबाट जुन माया पाएका छौं, त्यसबाट एकदमै उत्साहित छौं । हरेक दृश्यमा हामीले सोचेकै ठाउँमा दर्शकहरुले सेलेट गर्नुभएको छ । हाम्रो लागि यही ठूलो जित हो ।’

अब ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’को भविष्य आइतवारदेखिको दर्शक उपस्थितिले निर्धारण गर्नेछ । ‘झिँगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजाले वर्ड अफ माउथ बलियो भएकाले आइतवारबाट पनि दर्शकको उपस्थिति सुखद् रहने विश्वास व्यक्त गरे । त्यस्तै, ‘सम्हालिन्छ कहिले मन’का निर्देशक सुदर्शन थापाले चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया मिलेकाले आइतवारबाट दर्शक थप बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu