आगामी कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘महापुरुष’ विदेशमा पनि रेगुलर शोमा प्रदर्शन हुने भएको छ । प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान, युरोप, कोरिया र मध्य पुर्वका देशहरुमा एकसाथ रिलिज हुँदैछ ।
यीमध्ये अमेरिका र अस्ट्रेलियाको प्रदर्शनको लागि लगभग रेगुलर शोको चाँजोपाँजो मिलेको छ । एमएसएम इभेन्ट्सले अस्ट्रेलिया र नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले अमेरिका राइट्स महँगो रकममा खरिद गरेका छन् । एमएसएम इभेन्ट्सले अस्ट्रेलियाका विभिन्न प्रान्तमा आयोजना हुने शोको एकै सर्भरमार्फत् टिकट लिन सकिने गरी एप डेभलप गरिरहेको छ ।

निर्देशक भट्टराईका अघिल्ला चलचित्रले दर्शकलाई निराश नबनाएका कारण ‘महापुरुष’को अस्ट्रेलियामा राम्रो माग रहेको एमएसएम इभेन्ट्सका एक प्रतिनिधिले बताए । ‘अस्ट्रेलियाका बिभिन्न शहरमा चलचित्रको शो गर्दैछौँ । नेपालमा जस्तै रेगुलर शोमा प्रदर्शन हुनेछ । रेगुलर शो आयोजना गर्दा दर्शकले आफ्नो समय हेरेर पायक पर्ने ठाउँमा चलचित्र हेर्न पाउनु हुनेछ,’ प्रतिनिधिले भने ।
अमेरिका रिलिजको जिम्मा पाएको नेपाल ११ इन्टरटेनमेन्टका प्रतिक सुवेदीले प्रदीप भट्टराई र निर्माता रविन्द्र सिंह बानियाँको यसअघिको सहकार्यमा बनेका चलचित्रले दर्शकको मन जितेका कारण ‘महापुरुष’को राइट्स लिएको बताए । यो कम्पनीले मोमो इन्टरटेनमेन्टका विपिन थकालीसँग मिलेर अमेरिकासँगै क्यानाडामा चलचित्रको शो गरिरहेको छ ।
रेगुलर शोमा चलचित्र देखाउने भएपछि आफूले वितरण कम्पनीसँग सहकार्य गरेको निर्माता बानियाँले बताए । ‘अब दर्शकलाई रेगुलर शोमा नै चलचित्र देखाउने हाम्रो तयारी पूरा भएको छ । अब दर्शकले अन्य विदेशी चलचित्र झैँ आफ्नो अनुकूल समयमा हेर्न पाउनु हुनेछ,’ बानियाँले भने । चलचित्रको अस्ट्रेलिया र अमेरिका राइट्स ५०/५० लाखमा बिक्रि भएको हो ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्यालको अभिनय छ । दीपक बज्रचार्यले खिचेको चलचित्रमा रविन्द्र सिंह बानियाँको कार्यकारी निर्माण छ । म्याक्स दिपेश खत्री चलचित्रका निर्माता हुन् ।