‘झिँगेदाउ’लाई जेष्ठ नागरिकले सित्तैमा हेर्न पाउने



शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिँगेदाउ’लाई केही हलमा जेष्ठ नागरिकले सित्तैमा हेर्न पाउने भएका छन् । राजधानीका बिएसआर मुभिज, अष्टनारायण पिक्चर्स र काभ्रे बनेपास्थित शुभकामना हलले जेष्ठ नागरिकलाई सित्तैमा चलचित्र देखाउन लागेको हो ।

आमा-सन्तानबीचको भावनात्मक कथा भनेका कारण बिएसआर मुभिजले ६५ वर्ष माथिका जेष्ठ आमाहरुको लागि सित्तैमा चलचित्र देखाउने घोषणा गरेको हो । निर्माण पक्षले दिएको जानकारी अनुसार, अष्टनारायण पिक्चर्स र शुभकामना हलले प्रदर्शन अवधिसम्म जेष्ठ आमा-बुबा दुवैलाई सित्तैमा चलचित्र देखाउने छन् ।

शुक्रबार औसत व्यापार गरेको ‘झिँगेदाउ’ले शनिबारबाट रफ्तार समातेको थियो । शनिबार अधिकांश हल हाउसफुल भएका थिए । आइतबारदेखि पनि चलचित्रको ट्रेन्ड राम्रो छ । बलियो ‘वर्ड अफ माउथ’ले सिनेमा लामो रेसको घोडा बन्ने संकेत देखिएको छ । चलचित्रलाई दर्शकको राम्रो साथ र प्रतिक्रिया मिलेपछि निर्देशक ज्ञानेन्द्र देउजाले ७ वर्षपछिको कमब्याक सफल भएको महशुस गरेका छन् ।

यस्तै, अभिनेत्री केकी अधिकारीले वर्षौंपछि हलमा परिवारसहित दर्शक फर्किदा खुसी मिलेको बताइन् । दर्शक प्रतिक्रिया राम्रो मिलेका कारण आगामी दिनमा पनि चलचित्रले राम्रो व्यापारको शिलशिलालाई कायम राख्ने उनको विश्वास छ । अभिनेत्री आँचल शर्माले दर्शक प्रतिक्रिया र उपस्थितिले उत्साह मिलेको बताइन् ।

चलचित्रमा केकी र आँचलसंगै मुकुन भुषाल, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय रहेको छ । भिमनिधि तिवारीले लेखेको चर्चित कथा कृति ‘झिँगेदाउ’ माथि आधारित भएर बनेको चलचित्रको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu