‘झिँगेदाउ’ : चितवनमा देखियो आँचलको क्रेज



शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘झिँगेदाउ’लाई मिलेको दर्शकको साथ र प्रतिक्रियाले अभिनेत्री आँचल शर्मा खुसी देखिएकी छन् । शुक्रवार र शनिवार काठमाडौंका दर्शकहरुको प्रतिक्रिया बुझ्न विभिन्न हलहरुमा पुगेकी आँचलले सोमवार श्रीमान् उदिप श्रेष्ठको जन्म जिल्ला चितवन पुगेर ‘झिँगेदाउ’ हेर्ने दर्शकहरुसँग प्रत्यक्ष भेट गरेकी छन् ।

सोमवार चितवनमा ‘झिँगेदाउ’ले ८० प्रतिशत माथि अकुपेन्सी कायम गरेको वितरकले बताएका छन् । चलचित्र हेर्न महिलाहरुको बढी उपस्थिति थियो । परिवारसहित चलचित्र हेर्न आएकी एक जेष्ठ आमाले आँचललाई भेट्दा अंगालो हाल्दै आँसु बगाएकी थिइन् । आँचलले पनि ती आमाप्रति अगाध प्रेमभाव दर्शाइन् । चलचित्र हेर्न विशेषगरी महिलाहरुको उपस्थिति बढी देखिएको थियो ।

‘झिँगेदाउ’को ‘वर्ड अफ माउथ’ बलियो रहेका कारण वीकडेजमा पनि दर्शक उर्लिएका छन् । आमा र छोरा-बुहारीहरुको कथा भन्ने चलचित्रमा आँचलसँगै केकी अधिकारी, मुकुन भुषाल, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय रहेको छ ।

चलचित्रमा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित) को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको चलचित्रमा सुशील दाहाल र इश्वर घिमिरेको सह-निर्माण छ । प्रदीप भारद्वाजको लेखन रहेको चलचित्र भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu