‘ऐना झ्यालको पुतली’लाई प्रिमियरमा प्रशंसाको ओइरो



शुक्रवारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ऐना झ्यालको पुतली’लाई प्रिमियरमा प्रशंसाको ओइरो लागेको छ । सोमबार आयोजित प्रिमियरमा उपस्थिति कलाकार तथा साहित्यकारले चलचित्र हेरिरहँदा आफ्नै कथा हेरिरहे जस्तो महसुस भएको बताएका थिए । गायिका आनी छोइङ डोल्माले चलचित्र असाध्यै सुन्दर बनेको बताउँदै यो चलचित्र नेपालभरिका स्कुलमा देखाउन आग्रह गरिन् । उनले आफूले आजसम्म हेरेका नेपाली चलचित्रमध्ये सबैभन्दा सुन्दर लागेको पनि बताइन् ।

पहिलो चोटि हेर्दा धित नमरेर दोस्रो पटक चलचित्र हेर्न आएका एमाले नेता रघुजी पन्तले ‘ऐना झ्यालको पुतली’ नेपाली चलचित्र कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ रहेको बताए । ‘यो नेपाली टेस्टको अर्गानिक कथा हो । यो राम्रा चलचित्रको कोटीमा पर्छ । नेपाली चलचित्र कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ खोजिरहेका हामी सबैका लागि जवाफ हो,’ पन्तले भने ।

साहित्यकार नयनराज पाण्डेले चलचित्रलाई ५ मा ५ रेटिङ दिँदै चलचित्र हेर्दा आफूलाई डेढघन्टा मौन साधना गरेको महसुस भएको प्रतिक्रिया दिए । ‘कथा भन्ने शैली यति सहज त यसअघि मैले नेपाली चलचित्रमा विरलै देखेको थिएँ या सायद देखेकै थिइनँ । यो चलचित्रले हाम्रो दिमागमा ‘प्रश्न’ उमार्दोरहेछ । सुन्दर सुइटरझैं बुनिएको पटकथा र बुलन्द निर्देशनले यो चलचित्रलाई भव्य उचाइ दिएको छ । यो नेपाली सिनेमाको ठूलो प्राप्ति हो,’ उनको भनाई थियो ।

निर्देशक दीपेन्द्र लामाले ‘मुकुण्डो’ र ‘नुमाफुङ’पछि ‘ऐना झ्यालको पुतली’ सन्तुष्टि दिने चलचित्र रहेको बताए । ‘झन्डै २० वर्षपछि ‘ऐना झ्यालको पुतली’ मेरो लागि सबैभन्दा बढी सन्तुष्टि दिने नेपाली चलचित्र भइदिएको छ । अर्गाानिक वा मौलिकताका नाममा बनिरहेका आलाकाँचा चलचित्रहरुको डंगुरमा यो सगरमाथाझैं अग्लो र चम्किलो बनेर आइपुगेको छ । व्यक्तिगत रूपमा भन्नुपर्दा, ‘ऐना झ्यालको पुतली’ हेरेर इर्ष्या नै लागेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रिमियरमा उपस्थित दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, प्रकाश सपुत आदिले पनि चलचित्रमा आफूलाई नै पाएको बताउँदै ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए । चलचित्रमा सुजित बिडारीको लेखन तथा निर्देशन रहेको छ । आकाश पौडेल, प्रविन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेको चलचित्रमा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटीको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu