असोज १४ देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाबरी’को अस्ट्रेलिया प्रदर्शन राइट्स विक्री भएको छ । मेभन कन्सल्टिङ ग्रुपको तर्फबाट अनिल त्वनाबासु र विक्की श्रेष्ठले चलचित्रको अस्ट्रेलिया राइट्स किनेका हुन् । केही दिनअघि निर्माण कम्पनी बाबरी फिल्म्स र वितरण कम्पनी मवेन इन्टरटेनमेन्टबीच कागजी सम्झौता भएको हो ।

नेपाल रिलिजको १० दिनपछि अस्ट्रेलियामा चलचित्र प्रदर्शन हुनेछ । यस्तै, तिहारको एक सातापछि नोभेम्बर ६ मा हङकङमा पनि चलचित्र रिलिज हुनेछ । हङकङ राइट्स यसअघि नै विक्री भैसकेको थियो । ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीतको लोकप्रियता र ट्रेलरले देखाएको सुखद् संकेतले विदेशमा चलचित्रको डिमान्ड बढ्दो छ ।
सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा धिरज मगर, अदिति बुढाथोकी, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय छ ।
चलचित्रमा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण छ । उनीहरु अभिनेत्री अदिती बुढाथोकीका आमा-बुबा हुन् । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत र निर्देशक पौडेलको सम्पादन छ ।