विदेशी चलचित्र वितरकद्वारा नांगो हस्तक्षेप, शो टाइम सोध्नेलाई दिने जवाफ समेत छैन



काठमाडौँ। नेपालमा विदेशी चलचित्रको हस्तक्षेप कतिसम्म रहेको छ भनेर यो हप्ताको चलचित्र रिलिजले प्रष्ट पारेको छ । सेन्सर पास गरेर प्रिमियर शो समेत गरेर बसेका दुई नेपाली चलचित्रहरुले रिलिजको एक दिन अगाडीको मध्यदिनसम्म शो टाइम पाएका छैनन् । यसका कारण हुन् भारतिय चलचित्रहरुका वितरक ।

यसअघि सेन्सर नहुँदै अर्थात रिलिजको एक हप्ता अगावै भारतिय चलचित्र ‘केजिएफ २’का टिकट बिक्रि वितरण भएको थियो । त्यसले नेपालमा जे पनि हुन्छ भन्ने नजिर स्थापित गरेको थियो । सोहि कारण यसपटक चलचित्र विकास बोर्डले सेन्सर अगावै शो खुलाउन र टिकट बेच्न कडाई गरेपछि त्यसको बदला सेन्सर भएर बसेका नेपाली चलचित्रहरुले पाएका छन् । भारतिय चलचित्रहरुका वितरकहरुले आफुले नेपालमा वितरण गरेका चलचित्रहरुको सेन्सर नभई शोटाइम नखुलाउँदा हलहरुले नेपाली चलचित्रको शोटाइम नखुलाएका हुन् । सामान्यतया विदेशी चलचित्रहरुको सेन्सर एक वा दुई दिन अगाडी हुने गरेको छ । नेपाली चलचित्रलाई हार्ड ड्राईभमा मगाएर संचार तथा सुचना मन्त्रालयको भित्तामा टाँगिएको टेलिभिजनमा हेरेर सेन्सर गर्दै आएको सेन्सर बोर्डले विदेशी चलचित्रहरु भने चलचित्र विकास बोर्डको हलमा रहेको लक्जरी हलमा हेर्दै आएको छ ।

नेपाली चलचित्रप्रति भेदभावपूर्ण व्यबहारले चलचित्रकर्मीहरुमा निराशा र आक्रोश छाएको छ । यो शुक्रबार दुई नेपाली चलचित्रहरु ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खाः बिनिथ द व्रेभरी’ रिलिज हुँदैछन् भने भारतका दुई चलचित्र ‘ब्रह्मास्त्र’ र ‘सिता रामम’ रिलिज हुँदैछन् । ब्रम्हास्त्र भारत र नेपालमा एकसाथ रिलिज हुँदैछ भने ‘सिता रामम’ भारतमा एक महिना अगाडीदेखि चलिरहेको छ ।

दक्षिण कोरियाको ‘बुसान इन्टरनेशनल फिल्म फेस्टिभल’ को मुख्य प्रतिस्पर्धामा छनोट भएको पहिलो नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ले प्रिमियरबाट नेपालमा बनेको अहिलेसम्मकै राम्रो र मौलिक चलचित्रको संज्ञा पाएको छ । यसका निर्देशक सुजित बिडारीले ‘कुन हलमा कुन समयमा हेर्न जाउँ ?’ भनेर सोधिरहेका साथीभाइलाई जवाफ दिन नसकिरहेको बताएका छन् । बिहिबार सामाजिक फेसबुकमा एक स्टाटस लेख्दै बिडारीले अहिलेसम्म मात्र चाबहिलको एफक्युब सिनेमामा मात्र एउटा शो पाएको त्यो पनि १२.१५ जस्तो अफटाइममा पाएको लेखेका छन् । उनले लेखेका छन्, ‘यदि तपाईंलाई साँच्चै नै ‘ऐना झ्यालको पुतली’ बाँच्नुपर्छ जस्तो लाग्छ भने, भोलि छुट्टी पनि हो, थाहा भएको शो टाइम त्यही एउटा हो । स-परिवार त्यतै भेटौं न त ।’

अर्को चलचित्र ‘गोर्खाः बिनिथ द व्रेभरी’को पनि कुनै पनि शोटाइम देखिएको छैन । अघिल्लो हप्ता रिलिज भएका दुई चलचित्रहरु ‘झिंगेदाउ’ले आजसम्म राम्रो दर्शक पाईरहेको छ भने ‘सम्हालिन्छ कहिले मन’ पनि चलिरहेको छ । त्यस्तै, दुई हप्ता अगाडी रिलिज भएको चलचित्र ‘प्रकाश’ पनि हलमा चलिरहेको छ । यि चलचित्रहरु मध्ये यो हप्ता धेरै दर्शक पाईरहेको ‘झिंगेदाउ’ले समेत शुक्रबारदेखिको शो टाइम पाएको छैन् ।

यो प्रसंगलाई लिएर केहिले चलचित्र विकास बोर्डको अस्तित्व नदेखिएकोले खारेज गरे हुने विचार राखिरहेका छन् भने कतिले अहिलेका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रप्रतिको बोर्डको आवश्यकता पुष्टी गर्ने मौका आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu