‘झिँगेदाउ’ हेरेपछि राजेश हमालले भने, ‘आमालाई मिस गरेँ’



अभिनेता राजेश हमालले चलचित्र ‘झिँगेदाउ’ हेर्दा आफूले आमालाई धेरै सम्झिएको बताएका छन् । बुधवार दरवार सिनेमामा चलचित्र हेरेपछि उनले भने, ‘मैले चलचित्र हेरिरहँदा आमालाई भयंकर मिस गरेँ । आमा-बुबाप्रति सन्तानले गर्नुपर्ने कर्तव्यलाई चलचित्रले झकझकाउँछ । आधुनिक जमानामा हामीले आमा-बुबाप्रतिको जिम्मेवारी भुलिरहेका हुन्छौं । चलचित्रले हामीलाई जिम्मेवार बोध पनि गराउँछ ।’

क्लाइमेक्स निकै मार्मिक रहेको बताउँदै उनले नेपाली समाजको एउटा समयलाई चलचित्रले प्रतिनिधित्व गर्ने बताए । ‘त्यो समयको भावना, जीवनशैली, रहन-सहनलाई चलचित्रले प्रतिनिधित्व गरेको छ र त्यसलाई राम्रोसँग झल्काइएको छ,’ उनले भने, ‘पारिवारिक कलहले आमाहरु कसरी विचलित हुन्छन् भन्ने चलचित्रको कथाले मन छुन्छ । अहिलेको समयमा त यो चलचित्र झन् सान्दर्भिक छ ।’

आमा र बुबा जीवनमा कति महत्त्वपूर्ण हुन्छन् भन्ने कुराहरु चलचित्रमा दर्शाइएको र त्यसमा सबैले अपनत्व महसुस गर्ने हमालको धारणा छ । निर्देशकले क्यारेक्टर हेरेर अब्बल कलाकार छानेको र हरेक कलाकारले पात्रलाई न्याय गरको भन्दै उनले प्रशंसा गरे । चलचित्रमा बोलिने संवाद र देखाइने दृश्यले एउटा समयलाई प्रतिनिधित्व गर्ने भएकाले आफूलाई चलचित्र मन परेको उनले बताए ।

त्यस्तै, निर्देशक तुलसी घिमिरेले धेरैपछि आफूले एउटा इमोसनल चलचित्र हेर्न पाएकोमा खुसी भाव प्रकट गरे । चलचित्र राम्रो रहेको बताउँदै उनले ‘झिँगेदाउ’ नेपाली कलर र फ्लेवरमाथि बनेको र यस्ता चलचित्रहरु बन्नुपर्ने बताए । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले कलाकारको अभिनयसँगै निर्देशकिय पक्ष अब्बल रहेको प्रतिक्रिया दिए । चलचित्र हेरिरहँदा ध्यान अन्त नजाने उनले सुनाए ।

बरिष्ठ कलाकार तथा निर्देशक नीर शाहले कृतिलाई ‘झिँगेदाउ’ले न्याय गरेको तर्क गरे । उनले भने, ‘समाजको कथाभित्रको पनि कथालाई लिएर निर्देशकले चलचित्र बनाउनुभएको छ । यो चलचित्र पूरै अर्गानिक छ । वर्षौंपछि नेपाली चलचित्रमा नयाँपन भेटिएको महसुस हुन्छ । चलचित्रमा सबैले उत्कृष्ट अभिनय गर्नुभएको छ । दीर्घकालिन र गहिरो सन्देश प्रवाह गर्न चलचित्र सफल भएको छ ।’

बुधवार दरवार सिनेमामा चलचित्र हेरेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, शिव श्रेष्ठ, सरोज खनाल, किरण केसी, अशोक शर्मा, कृष्ण मल्ललगायतले पनि कलाकारको अभिनय, कथावस्तु र निर्देशक देउजाको कामको प्रशंसा गरे । पारिवारिक कथामा बनेको चलचित्रमा हिउँवाला गौतम, केकी अधिकारी, आँचल शर्मा, संगम भण्डारी, मुकुन भुषाल, कुशल विष्टलगायतको अभिनय छ ।

ज्ञानेन्द्र देउजाले चलचित्रको निर्देशन गरेका हुन् । यो उनको कमब्याक चलचित्र हो । प्रदर्शनको पहिलो दिन औसत व्यापार गरेको चलचित्रले बलियो ‘वर्ड अफ माउथ’ पाएपछि हलमा दर्शकको उपस्थिति बढाउँदै लगेको छ । राजधानीसहित देशभर चलचित्रको दिनहुँ ६० प्रतिशतभन्दा माथि अकुपेन्सी छ । यो चलचित्र हेर्न युवापुस्ताभन्दा परिवारसहित हल पुग्ने दर्शकहरु धेरै देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu