प्रदर्शकले नेपाली चलचित्रको बुकिङ नखुलाएपछि निर्माता संघ र निर्देशक समाजको आपत्ति



बलिउड चलचित्र ‘ब्रह्मास्त्र’को सेन्सर नभएका कारण शुक्रवारबाट प्रदर्शनमा आउने दुई नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’को बिहीवार दिउँसोसम्म बुकिङ नखुलेपछि चलचित्र निर्माता संघ र चलचित्र निर्देशक समाजले गम्भीर आपत्ति जनाएका छन् । यी दुई संस्थाले विज्ञप्ति जारी गर्दै नेपाली चलचित्रलाई पेल्न र हेप्न खोजिएको भन्दै खेद व्यक्त गरेका छन् ।

निर्माता संघले शुक्रबारदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’लाई समान हैसियतको शो र अग्रिम बुकिङ खुला गर्ने वातावरण बनाइदिन आग्रह गर्दै अन्यथा बाध्य भएर कडा रुपमा संघर्षमा उत्रने चेतावनी दिएको छ ।

निर्देशक समाजले पनि टिकट बुकिङ खुल्ला गर्न ढिलाइ गरेकोप्रति खेद व्यक्त गरेको छ । नेपाली चलचित्र क्षेत्रलाई हतोत्साही तुल्याउने गैरजिम्मेवारीपूर्ण कार्यलाई बन्देज लगाउन पनि आग्रह गरेको छ । निर्देशक समाजका महासचिव जनकदीप पराजुलीको हस्ताक्षरमा प्रकाशित विज्ञप्तिमा सधैंभरी नेपाली चलचित्रमाथि विदेशी चलचित्रहरुले दबाबमा राख्ने यस्तो प्रवृतिको घोर भत्सर्ना गर्ने उल्लेख छ ।

त्यस्तै, सेन्सर बोर्डका सदस्यमध्ये एक सन्तोष कुमार थापाले अहिलेसम्म ‘ब्रह्मास्त्र’ सेन्सरका लागि नआएको र शुक्रवार-शनिवार विदा परेकाले त्यस दिन सेन्सर नहुने र विदामा पनि सेन्सर बोर्डले हिन्दी फिल्मलाई सेन्सर गरे आफू उपस्थित नहुने फेसबुकमा स्टाटस लेख्दै बताएका छन् । सार्वजनिक विदामा चलचित्रको सेन्सर गर्न नपाइने कानुनी व्यवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu